राप्रपामाथिको अविश्वास : लुटपाटको भयले प्रदर्शनस्थल वरपरका सबै पसल बन्द

राप्रपामाथिको अविश्वास : लुटपाटको भयले प्रदर्शनस्थल वरपरका सबै पसल बन्द

काठमाडौं : चैत १५ मा तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक भएसँगै लुटपाट समेत भएको थियो। त्यसको प्रभाव आइतबार बिजुलीबजार क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको बन्दमा देखियो। राप्रपाले आइतबार प्रहरी हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विरोध प्रदर्शनको आयोजना गरेको थियो।

विरोध प्रदर्शनस्थल वरपर सटर बन्द गरिएका पसलहरु।सो क्षेत्रमा नियमित रूपमा शिक्षकहरूले आन्दोलन गर्दै आएका थिए। शिक्षकहरूको आन्दोलनको बेलामा शान्त रहेको सो क्षेत्रमा वरपरका पसल खुल्लै थिए। व्यापारिक चहलपहलमा नकारात्मक प्रभाव परेको थिएन। तर आइतबार राप्रपाले प्रदर्शन गर्ने भन्नासाथ वरपरका सबै पसलहरू बन्द गरियो।

चैत १५ मा तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा सहभागीहरूले वरपरका घरमा तोडफोड र आगजनी गरेका थिए। उनीहरुले भाटभटेनीमा लुटपाटसम्म गरेका थिए।

प्रदर्शनकारीको संख्या निकै कम देखिन्छ। उनीहरू निषेधित क्षेत्र सुरु हुने ब्यारिकेट अगाडि आएर नारा जुलुस गरिरहेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका केही नेता तथा सांसदहरूले सिंहदरबार भित्रै प्रहरीलाई झुक्क्याएर प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लियो।

अन्य नेता तथा कार्यकर्ताहरू भने सडकमा प्रदर्शन गरिरहेका छन्। राप्रपाले निषेधित क्षेत्र तोड्ने धम्की दिएकाले चारैतिर दङ्गा प्रहरी राखिएको छ। सिंहदरबार वरपरको सडकलाई सवारीसाधन मुक्त बनाइएको छ।

चैत १५ को आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा सो कार्यक्रमको आयोजक समितिमा बसेका रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतका राप्रपाका नेताहरू अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। राप्रपाले उनीहरूको रिहाइको माग गरिरहेका छन्।

शिंहदरबारभित्र प्रदर्शन गर्दै लिङदेन लगायतका नेताहरु।

वैशाख ७, २०८२ आइतबार १६:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।