पक्राउ पर्नुअघि लिङ्देन- नसुन्ने सरकारलाई नजिकैबाट सुनाउन निषेधित क्षेत्रमा जानुपरेको हो

पक्राउ पर्नुअघि लिङ्देन- नसुन्ने सरकारलाई नजिकैबाट सुनाउन निषेधित क्षेत्रमा जानुपरेको हो

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सिंहदरबारको गेटबाट पक्राउ परेका छन्। 

आइतबार सिंहदरबार भित्रैबाट प्रदर्शन गर्दै बाहिर निक्लने क्रममा उनीसहित प्रमुख सचेतक ज्ञानेन्द्र शाही र बुद्धिमान तामाङलाई पक्राउ गरिएको हो।  

पक्राउ पर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको आरोप लगाए। 

सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताए। 

 ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ। त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं। सरकारले सुन्नुपर्छ। प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ,’ उनले भने। 

त्यस्तै उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङ्कुशता भएको टिप्पणी गरे।  

त्यसैगरी सांसद ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ लेखेको अध्यक्ष लिङ्देनको तस्विरसहितको टोपी लगाएर प्रदर्शन गरेका थिए।

नेताहरूलाई प्रहरीले भ्यानमा हाल्न खोज्दा सिंहदरबारमा गणतन्त्र विरोधी नारा लागेका थिए।

वैशाख ७, २०८२ आइतबार १५:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।