राप्रपाको प्रदर्शन बिजुली बजारमा मात्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले बिजुली बजारमा मात्र प्रदर्शन गरेको छ। यसअघि तीन ठाउँमा प्रदर्शन गर्ने भनिएकोमा अन्तिम समयमा पार्टीले निर्णय गरेर एक ठाउँमा मात्र प्रदर्शन गरेको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘यसअघि तीन ठाउँबाट निकाल्ने भनिएकोमा पार्टीको बैठकले एक ठाउँमा मात्र गर्ने निर्णय भएपछि बिजुली बजारमा मात्र प्रदर्शन गरिरहेका छौँ।’
लोकतन्त्र र गणतन्त्र भनिए पनि सरकारको निरङ्कुशतावादी प्रवृत्तिको विरुद्ध आन्दोलन गर्नुपरेको राप्रपाको धारणा छ। पार्टीले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सरकारलाई नडराउन आग्रह गरेको छ।
यद्यपि, राप्रपाकै प्रदर्शनका लागि भनेर जिल्ला प्रशासन कार्यालयले बाक्लो संख्यामा सुरक्षाकर्मी सडकमा परिचालन गरेको छ।
राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शनमा उत्रिएको पार्टीका केही पदााधिकारीले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए। उनीहरूले ज्ञानेन्द्रसँग ‘लन्च मिटिङ’ गरेका थिए।
सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारीमा छ। प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्दैछन्।
यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो। उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसके पनि राप्रपाले आन्दोलनलाई निरन्तरता दिँदैछ। राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारी पक्ष सैह्य नहुने चेतावनी दिइसकेको छ।
वैशाख ७, २०८२ आइतबार १२:३२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।