विष्णु पौडेलको गृहथलोमा उनैलाई अप्ठयारो पार्ने ओलीको त्यो बोली

बुटवल : गत चैत २९ गते बुटवलको रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेले प्रदेश स्तरीय जागरण सभा गर्यो। सम्मेलन केन्द्रको परिसरभित्र खुला रूपमा आयोजना गरिएको सभामा एमालेले ५० हजार कार्यकर्ता उत्तार्ने बताए पनि कार्यक्रम स्थलमा अपेक्षित कार्यकर्ता देखिनन्।
गणतन्त्रको सुदृढिकरण भन्दै विभिन्न शहरमा आयोजना गरेको सभामध्ये बुटवलको सभा एक थियो। चर्को गर्मीमा अस्तव्यस्त व्यवस्थापनकाबीच सभालाई प्रदेश इन्चार्ज तथा पार्टी सचिव पदमा अर्याल, उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल र प्रधानमन्त्री ओलीले सम्बोधन गरे।
एक घण्टा मञ्चमा उभिएर भाषण गरेका ओलीले सरकारका कामको फेहरिस्त मात्र सुनाएनन्, राजतन्त्र पुनर्स्थापनाको सपना नदेख्न समेत चेतावनी दिए। सोही सभामा प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानीबारे समेत बोले। उनको सोही बोलीले एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णु पौडेललाई राजनीतिक करियरमै धक्का लाग्ने आँकलन गर्न थालिएको छ।
ओलीको त्यो बोली
सभामा प्रधानमन्त्री समेत रहेका ओलीले बुटवलबाट स्थायी राजधानी दाङ जानुमा बुटवल बासीले गौरव गर्नुपर्ने आशय व्यक्त गरे।
‘म प्रधानमन्त्री नभएको भए, विष्णु पौडेल अर्थमन्त्री नभएको भए, शंकर पोखरेल मुख्यमन्त्री नभएको भए, यहाँ कामको तालमेल मिल्दैनथ्यो। यो मात्रै एउटा प्रदेश हो, जसले सिंहदरवारलाई भालुवाङमा सार्याछ, सिंहदरबारलाई भालुवाङमा सारेको देख्नुभको छ की छैन, अरु कुनै प्रदेशले सकेको छैन, यहि प्रदेशले मात्रै सारेको छ, लुम्बिनीमा त्यो काम भएको छ’, उनले भनेका थिए।
उनले यसो भन्दा मञ्चमै बसिरहेका पौडेलले केही असहज माने पनि कार्यकर्ताले भने ताली पिटे। अर्थमन्त्री समेत रहेका पौडेलको निर्वाचन क्षेत्रमा आएर खाटो बसेको राजधानीको घाउ ओलीले कोट्याइदिए। ओलीले घाउ कोट्याइदिएपछि अहिले राजधानीको विषयले बुटवलको राजनीतिमा तरङ्ग पैदा भएको छ।
पौडेल शुरुदेखि नै बुटवललाई प्रदेशको राजधानी बनाउने अजेन्डासहित चुनाव लडेर जितेका पनि थिए। रुपन्देहीका सहभागी हुने हरेक कार्यक्रममा स्थायी राजधानी बुटवलनै हुने उनले बताउँदै आएका थिए।
एमाले अध्यक्ष ओलीले पुरानो राजधानीको विषयबारे अहिले पौडेलकै नाम लिएर बोलेपछि राजधानीको विषयमै पौडेलकै भूमिकामाथि समेत शंका उब्जिएको छ। बुटवलमा भएका विपक्षी दलका नेताहरुले यसलाई अजेन्डा बनाउन बल पाएका छन्।
प्रदेशको स्थायी राजधानीको सवाल पेचिलो बनिरहेका बेला पौडेलले अस्थायी मुकाम बुटवल नै प्रदेशको स्थायी राजधानी बन्ने निर्धक्क भाषण गर्थे। अन्तिम समयसम्म पौडेलले पार्टीका कार्यकर्ता र जनतालाई बुटवल नै स्थायी राजधानी हुन्छ भनिरहे। तर, उनले भनेको जस्तो भएन।
पार्टी कमिटीको बैठकमा समेत पौडेलले स्थायी राजधानी बुटवलमै हुनुपर्छ भनेर एक्लो अडान राखेको निकटस्थहरूको दाबी छ। तर, ओलीले तत्कालीन प्रदेशका मुख्यमन्त्री रहेका शंकर पोखरेल अनुकुल स्थायी राजधानी दाङ देउखुरी लैजान सहमति दिएका थिए।
त्यो बेला एमाले र माओवादीको एकताले बनेको नेकपा थियो। उनै ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन प्रदेश नं. ५ को स्थायी राजधानी दाङ देउखुरी लैजाने विषयमा सहमत गराएपछि देउखुरीलाई राजधानी घोषणा गरियो।
राजधानी घोषणापछि एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच घनिष्ठ सम्बन्ध रहेन। पार्टीको प्रदेश कमिटीभित्र अहिले पनि ‘पौडेल गुट’ र ‘पोखरेल गुट’ भनेर चर्चा हुने गरेको छ। एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा त अझ यी दुई गुट स्पष्ट देखिए।
नेताहरू खुलेर पौडेल र पोखरेल गुट भन्दै प्यानलनै बनाएर चुनाव गए। अन्ततः प्रदेश अधिवेशनमा पौडेल पक्षका राधाकृष्ण कंडेल विजयी भए। पोखरेल पक्षका प्यूठानका हरि रिजाल पराजित भए।
ओलीले किन बुटवलबासीलाई चिढाउन खोजे ?
राजधानीको विषय विस्तारै बुटवल बासीले भुल्दै जाँदा २९ चैतमा ओलीको राजधानीबारे भाषणले बुटवल वा सिंगो रुपन्देहीवासी चिढिएका त छन् नै, उपाध्यक्ष विष्णु पौडेलको राजनीतिक करियरमै धक्का लाग्ने समेत आँकलन गरिएको छ।
महासचिव शंकर पोखरेलले र उपाध्यक्ष पौडेलबीच मनमुटाव छैन भन्ने देखाउनका लागि राजधानीबारे ओलीले मञ्चमा त्यस्तो बोलेको एमाले पंक्तिको दाबी छ। तर, यसले पौडेलको राजनीतिक करियरमा पर्नसक्ने राजनीतिबारे जानकार लेखक हरि ज्ञवाली बताउँछन्।
‘पौडेललाई कमजोर बनाउन ओलीले राजधानी बारे टिप्पणी गरेका हुन्,’ उनी भन्छन्, ‘बुटवलबाट राजधानी दाङ सारिएकोमा रुपन्देहीवासीले खेद प्रकट गर्नुपर्नेमा अब गर्व गर्नुपर्ने दिन आयो, कसरी?’
वैशाख ७, २०८२ आइतबार ११:२६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।