बिहेको प्रस्ताव अस्वीकार गर्दा बुटवलमा युवतीमाथि गोली प्रहार

बिहेको प्रस्ताव अस्वीकार गर्दा बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल : बिहेको प्रस्ताव अस्वीकार गर्दा रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरकी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको छ।

पाल्पाको रैनादेवी छहरा घर भई बुद्धनगरमा बस्दै आएकी टीकामाथि शनिबार विहान गोली प्रहार भएको हो।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले केटाले एकतर्फी प्रेम गरेको र बिहेको प्रस्ताव अस्वीकार गर्दा टीकामाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

डिएसपी रानाले आलम अन्सारी भन्ने व्यक्तिले गोली प्रहार गरेको परिवारले बताएको र सोही अनुसार उनको खोजी भइरहेको बताए। गोली प्रहारबाट घाइते भएकी टीकालाई सुरुमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो।

अवस्था जटिल भएपछि उनलाई भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको छ। कम्मरमा लागेको गोली निकाल्न नसकिएपछि मेडिकल कलेजबाट फेरी अहिले चितवन पठाउन लागिएको बताइएको छ।

उनलाई गोली प्रहार गरिएको व्यक्ति नेपाली वा भारतीय हो भन्नेबारे अझै एकिन भएको छैन।

प्रत्यक्षदर्शी भन्छन्- रेडबुल खाएर गोली हानियो
टीकाले बुटवलको बुद्धनगरमा खाजा पसल सञ्चालन गरेकी थिइन्। भारतीय नम्बर प्लेटको नम्बरमा युवकले सुरूमा उनलाई अन्डा-चाउचाउ अर्डर गरे। तर केही समयमै उनले रेडबुल मगाए।

चाउचाउ र रेडबुल खानुअघि रेडबुल खाएका युवकले टीकामाथि गोली प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताए। गोली प्रहार गर्नासाथ ती युवक मोटरसाइकल चढेर भागेका थिए।

गोली लागेपछि युवती चिच्चाउँदै छिमेकीकहाँ पुगेकी थिइन्। स्थानीयका अनुसार गोली प्रहार गर्ने व्यक्ति यसअघि पनि पटक-पटक होटलमा आउने गरेका थिए।

युवतीलाई मन पराउने युवकले विहेको प्रस्ताव युवतीसँग राखेको र उक्त प्रस्ताव युवतीले अस्वीकार गरेपछि गोली प्रहार गरेको डिएसपी रानाले बताए।

वैशाख ७, २०८२ आइतबार १०:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।