राप्रपाले बिजुलीबजार सहित तीन स्थानमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोकिएका पाँचै स्थानमा प्रहरीको घेरा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले बिजुली बजारसहित तीन स्थानमा प्रदर्शन गर्ने भएको छ। पार्टीले बिजुली बजार मात्र नभएर अन्य दुई ठाउँमा पनि प्रदर्शन गर्नसक्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।
उनले उकेरासँग भने भने, ‘बिजुलीबजारमा चाहिँ पक्का हो, त्यसबाहेक अन्य दुई ठाउँमा हुनसक्छ। ठाउँको बारेमा केहीबेरपछि जानकारी गराउनेछौँ।’ श्रेष्ठले आन्दोलन शान्तिपूर्ण हुने र केही नेताहरू मात्र सहभागी हुने बताएका छन्।
यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक पोस्ट गर्दै लोकतन्त्र र गणतन्त्र भनिए पनि सरकारको निरङ्कुशतावादी प्रवृत्तिको विरुद्ध आन्दोलन गर्नुपरेको धारणा सार्वजनिक गरेका थिए। उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सरकारलाई नडराउन आग्रह गरेका थिए।
तर, राप्रपाकै प्रदर्शनका लागि भनेर जिल्ला प्रशासन कार्यालयले सुरक्षाका बाटोमा सयौं प्रहरी परिचालन गरिसकेको छ।
पार्टीले अहिलेसम्म प्रदर्शनको स्थानबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी नगराएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले उकेरालाई जानकारी दिए।
‘राप्रपाले अहिलेसम्म हामीलाई प्रदर्शनको बारेमा आधिकारिक जानकारी गराएको छैन,’ उनले भने, ‘अनौपचारिक रुपमा थाहा पाएका हौँ। हामीले सुन्न आएअनुसार उहाँहरूले निषेधित क्षेत्रभित्र प्रवेश गरेर प्रदर्शन गर्ने भन्ने सुनेका छौँ।’
त्यही अनुसार प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकिएका पाँच स्थानहरू सिंहदरबार क्षेत्र, संसद भवन क्षेत्र, प्रधानमन्त्री निवास, राष्ट्रपति र उपराष्ट्रपति निवास क्षेत्रमा राप्रपाले प्रदर्शन गर्नसक्ने आँकलन गरेर प्रहरी परिचालन गरेको छ।
वैशाख ७, २०८२ आइतबार ०९:५४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।