गृह मन्त्रालयको चेतावनीपछि राप्रपाको प्रतिक्रिया- ‘हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको चर्चासँगै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेपछि पार्टीले प्रतिक्रिया दिएको छ।
राप्रपाले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने चर्चा चलेपछि गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति निकालेर त्यसरी प्रदर्शन भए कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो।
तर, आज विहान उक्त विज्ञप्तिलाई काउन्टर दिने गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन भएको बताएका छन्।
उनले सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो।’
आजको प्रदर्शनमा राप्रपाका सीमित नेताहरू मात्रै सहभागी हुने उनले जानकारी गराए।
वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै उनले आफूले जे गरे पनि भनेरै गर्ने भएकाले सरकारलाई नडाराउन आग्रह गरेका हुन्।
यसअघि राप्रपाले बिजुली बजारमा आज मध्यान्ह १२ बजेपछि प्रदर्शन गर्ने र निषेधित क्षेत्र तोड्नेबारेमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए।
वैशाख ७, २०८२ आइतबार ०९:१४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।