चीनमा विश्वको पहिलो मानव-रोबोट हाफ म्याराथन, २१ वटा रोबोट सहभागी

एजेन्सी : चीनको राजधानी बेइजिङमा शनिबार मानिस र २१ रोबोटबीचको अनौठो हाफ म्याराथन दौड आयोजना गरिएको छ।
यी मेसिनहरूले २१ किलोमिटरको दूरीमा मानिसहरूसँगै दौडिएको यो पहिलो पटक थियो। यो दौड बेइजिङको दक्षिणपूर्वी यिझुआङ जिल्लामा भएको थियो, जहाँ चीनका धेरै ठूला प्रविधि कम्पनीहरू छन्।
यसको उद्देश्य रोबोटिक्स र प्रविधिको दुनियाँमा चीनको प्रगति प्रदर्शन गर्नु थियो। ड्रोइडअप र नोएटिक्स रोबोटिक्स जस्ता चिनियाँ कम्पनीहरूका रोबोटहरूले पनि दौडमा भाग लिएका थिए।
दौडमा रहेका केही रोबोटहरूको आकार १२० सेन्टिमिटर (३.९ फिट) भन्दा कम थियो भने केही १.८ मिटर (५.९ फिट) सम्म लामा थिए।
बेइजिङ इनोभेसन सेन्टर अफ ह्युमन रोबोटिक्सको रोबोट ‘टियाङगोङ अल्ट्रा’ २ घण्टा ४० मिनेटमा दौड पूरा गर्ने मेसिनहरूमध्ये पहिलो थियो भने मानव विजेताले १ घण्टा २ मिनेट दौड पूरा गरेका थिए।
सबैभन्दा कम समयमा २१ किलोमिटर म्याराथन पूरा गर्ने कीर्तिमान ज्याकब किप्लिमो (५६ मिनेट ४२ सेकेन्ड) को नाममा छ।
जसरी दौडको समयमा मानिसहरूलाई पानी पिउन आवश्यक पर्दछ, त्यसरी नै रोबोटहरूलाई ब्याट्री परिवर्तन गर्ने अनुमति दिइएको थियो।
दौडको समयमा मेसिनहरूलाई सहयोग प्रदान गर्ने मानव प्रशिक्षकहरू रोबोटहरूसँग थिए।
केही रोबोटहरूले दौडने जुत्ता लगाएका थिए, एउटाले बक्सिङ पन्जा लगाएका थिए र अर्कोले रातो ह्यान्डब्यान्ड लगाएका थिए जसमा चिनियाँ भाषामा ‘बाउन्ड टु विन’ (जित्न तयार) लेखिएको थियो।
४७० रोबोट र १० हजार कर्मचारी भएको चाइना रोबोटिक्स सेन्टरका प्रमुख प्रविधि अधिकृत ताङ जियानले दौडको क्रममा तियाङगोङ अल्ट्रालाई यसको लामो खुट्टा र एल्गोरिथ्मले मद्दत गरेको बताए। यसै कारणले यो मानिस जस्तै म्याराथन दौडन सक्षम भयो।
चीनले पछिल्ला केही वर्षहरूमा रोबोटिक्समा र्मनी र जापानलाई पछाडि पार्दै द्रुत प्रगति गरेको छ।
२०२३ सम्ममा, चीनमा प्रति १० हजार कामदारमा ४७० रोबोट थिए, जुन जर्मनीको ४२९ र जापानको ४१९ भन्दा बढी हो। अब रोबोट घनत्वमा दक्षिण कोरिया र सिंगापुर मात्र चीनभन्दा अगाडि छन्।
वैशाख ७, २०८२ आइतबार ०८:११:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।