स्तरोन्नति भन्दै दुई करोड खर्च गरेर पोखरीको पिँध ढलान गर्दा पानीको मुहानै सुक्यो

स्तरोन्नति भन्दै दुई करोड खर्च गरेर पोखरीको पिँध ढलान गर्दा पानीको मुहानै सुक्यो

खोटाङ :  दुई करोड १२ लाख रुपैयाँ खर्च गरेर स्तरोन्नति गरिएको इन्द्रेणीपोखरी सुकेको छ।  बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणी पोखरीलाई स्तरोन्नति गर्न सङ्घ, प्रदेश र स्थानीय तहले दुई करोड १२ लाखभन्दा बढी खर्च गरेका थिए। तर ढलान गर्ने मूर्खताले पोखरी नै सुक्यो।

पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको ४० लाख, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख गाउँपालिकाको  एक करोड ५२ लाखभन्दा बढी बजेट खर्च भएको छ।

परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको पौराणिक कथनले सो पोखरी हेर्न आन्तरिक पर्यटकहरू खोटेहाङ गाउँपालिका–६ मा पुग्थे।

बरापोखरी, उत्तरपूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भन्ज्याङलगायत पर्यटकीयस्थलहरू जोड्न सडकमार्ग समेत निर्माण गरियो।

इन्द्रेणी पोखरीमा बाह्रै महिना वनभोज खाने र दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए। पोखरी राम्रो बनाउने भन्दै प्राकृतिक स्रोत चलाउँदा पोखरी नै सुक्यो। पर्यटक पनि घटे।

प्राकृतिक रूपमै पर्यटकीय स्थल बनाउने भन्दै स्तरोन्नति गर्दा पोखरीको भुईँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गर्दा मुहान सुकेको हो। इन्द्रेणी पोखरीका नाममा करिब २१ रोपनी सार्वजनिक जग्गा छ।      
पोखरी रहेको स्थानमा हरेक नयाँ वर्षको दिन बृहत् मेला लाग्छ। पोखरीको स्तरोन्नति भन्दै सो क्षेत्रमा बाल उद्यान, पानीको फोहोरा बनाएर पोखरीलाई घेरिएको थियो।

त्यहाँ ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइयो। २० लाख खर्च गरेर पोखरीमाथि इन्द्रेणीको स्वरूप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृति बनाइएको थियो।

स्थानीय इन्द्र नारथुङ्गेले प्राकृतिक संरचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाउँदा समस्या भएको बताए।

‘इन्द्रेणी पोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन’,  उनले भने, ‘बिनाअध्ययन संरचना बनाउँदा प्राकृतिक पोखरीको पानी नै सुक्यो। पोखरीको ऐतिहासिकता नै सङ्कटमा पर्यो।’    
    
पर्यटन प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि उपयोगविहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए।

‘इन्द्रेणी पोखरीमा कुनै पनि मुहान छैन। प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलान समेत चिरा–चिरा भएर फुटेको छ। अन्यत्रबाट पानी लगाउने सम्भावना पनि छैन’ उनले भने।

वैशाख ६, २०८२ शनिबार २१:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।