बेलैमा मैदान सुकाउन नसक्दा नेपाल विश्वकपमा जानबाट रोकियो

काठमाडौँ : मैदान परेको पानी सुकाउन नसक्दा नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन सकेन। शनिवार आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत अफगानिस्तानविरुद्ध नेपालको महत्त्वपूर्ण खेल थियो।
तर बिहानै पानी पर्यो। पानी रोकिए पनि प्रतियोगिता खेलाउने मैदानको पानी सुकाउन नसकेपछि खेल हुनै सकेन। खेल नै रद्द भएपछि रन रेटको आधारमा अफगानिस्तान विश्वकपमा छनौट भयो।
टीयूको क्रिकेट मैदानमा पुनर्निर्माणको काम भइरहेकाले मूलपानीको तल्लो क्रिकेट मैदानमा प्रतियोगिताका खेलहरू भएका थिए।
खेल बिहान साढे ९ बजे सुरु हुने तोकिएको थियो। तर वर्षाका कारण खेल समयमै हुन सकेछ। पानीले भिजेको मैदान सुकाउन धेरै समय लाग्यो। समय अभाव भन्दै खेलै रद्द भयो।
नेपाल र अफगानिस्तानबीच शनिवारको खेल निकै महत्त्वपूर्ण थियो। दुवै टोलीले प्रतियोगितामा समान तीन-तीन खेल जितेर समान सात-सात अङ्क जोडेका थिए।
दुवैको समान अङ्क भए पनि रन रेटमा नेपाल पछाडि थियो। नेपाले शनिवारको खेल जितेको भए विश्वकपमा चयन हुने थियो।
तर वर्षाले खेल प्रभावित भएपछि दुवै टोलीले समान अङ्क बाँड्दा रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भयो।
आइसिसी यू–१९ क्रिकेट विश्वकप वर्ष सन् २०२६ मा जिम्बाबे र नामिबियामा हुनेछ।
वैशाख ६, २०८२ शनिबार २०:३४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।