चौँरीको आलो रगत खाने मेला सुरु, मूल्य गिलासको तीन सय

चौँरीको आलो रगत खाने मेला सुरु, मूल्य गिलासको तीन सय

मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा चौँरी मेला सुरु भएको छ। मेलामा हिमाली लेकमा पाइने जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ।

यार्सागुम्बा, पाँचऔँले, निरमसी, कुटुकी, बुकी घाँस खाएर हुर्केका चौँरीको आलो रगत खाँदा विभिन्न रोग निको हुने जनविश्वास छ।

हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको आयोजनामा सुरु भएको मेला परम्परादेखि नै चल्दै आएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न १० दिनसम्म मेला सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ।

उपसमितिका अध्यक्ष बुद्धिरत्न तुलाचनले स्थानीय व्यापार/व्यवसायको प्रवर्द्धन र कृषकको मेहनतलाई थप टेवा पुग्ने हिसाबले बर्सेनि मेला आयोजना गर्ने गरिएको बताए। उनका अनुसार मेलामा गण्डकी प्रदेशका धेरै जिल्ला र विशेषगरी म्याग्दीबाट आउँछन्।

मेलामा एक गिलास चौँरीको रगतको मूल्य तीन सय तोकिएको छ। मेलाको पहिलो दिन शनिवार करिब २ सय बढी व्यक्तिले चौँरीको रगत पिएको आयोजकले जनाएको छ।

‘यहाँ आउने बिरामी, अशक्त र पाहुनाका लागि खान र बस्न कुनै समस्या छैन’ तुलाचनले भने।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङका देउबहादुर गर्बुजाले विगत छ वर्षदेखि नियमित रूपमा मेलामा सहभागी भई चौँरीको रगत पिउँदै आएको र यसले ग्यास्ट्रिक, गानो दुख्ने र हाडजोर्नीलगायत समस्या निको भएको दाबी गरे।

मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गतका लेकहरू मुली, ह्याङ्देन, खल्क्यु, बतासेडाँडा, सानुसरेपहाड, छाक्ताङ, मार्चे र नुप्साङमा हुर्के बढेका याक नाक/चौँरीहरूको पालैपालो रगत निकालेर बिक्री गरिन्छ। उपसमितिअन्तर्गतका १० जना कृषक समूहमा करिब ७ सय चौँरी छन्। 

वैशाख ६, २०८२ शनिबार २०:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।