हिरासतमा प्रहरीको प्रश्न 'बीपी कोइरालासँग तेरो के सम्बन्ध छ ?'

हिरासतमा प्रहरीको प्रश्न 'बीपी कोइरालासँग तेरो के सम्बन्ध छ ?'

२०२७ वैशाख ६ गते विद्यार्थी सम्मेलनको तयारी करिब पूरा भइसकेको थियो। सम्मेलनमा भाग लिन देशका विभिन्न कलेजहरूबाट सह‌भागी हुन आएका प्रतिनिधि तथा पर्यवेक्षकहरू सहित लगभग २ सय जना विद्यार्थीहरूको यो ऐतिहासिक जमघट उत्साहपूर्ण देखिन्थ्यो।

प्रतिनिधि तथा पर्यवेक्षकहरूलाई होटेलमा बस्ने कुनै त्यस्तो किसिमको व्यवस्था नभएकोले उनीहरू साथीहरूको डेरा, छात्रावास आदि स्थानहरूमा अनुकूल मिलाई बसेका थिए।

पूर्वघोषित कार्यक्रम अनुसार २०२६ वैशाख ६ मा सम्मेलन उद्घाटनको दिन बिहानै विद्यार्थीहरू लुक्दै साटकसुटुक स्वयम्भूको एक सत्तल वरिपरि जम्मा भए। सम्मेलनस्थल सत्तलको भित्तामा रातो कपडामा 'अखिल नेपाल राष्ट्रिय विद्यार्थी सम्मेलन' लेखिएको करिब चार फिटको तुल टाँगिएको थियो।

उ‌द्घाटन समारोहका प्रमुख अतिथि, जो केही दिन अगाडि (२०२६ चैत्र २६ गते) मात्र रिहा हुनुभएको थियो, नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराई। त्यहाँ उपस्थित हुँदा सम्मेलनमा सहभागी प्रजातन्त्रवादी उत्साही विद्यार्थीहरूले ताली बजाएर स्वागत गरे।

२०१७ सालको फौजी काण्डपछि लगातार जेल जीवन बिताई छुट्नु भएका भट्टराईलाई धेरै सहभागीहरूले देखेका पनि थिएनन्। सम्मेलनको प्रथम दिनको उद्घाटन कार्यक्रमको सभापतित्व युनियनका अध्यक्ष देवेन्दलाल नेपालीबाट भयो।

यो ऐतिहासिक विद्यार्थी सम्मेलनको उद्घाटन गर्दै ४६ वर्षीय भट्टराईले 'हामीले सर्वप्रथम केही सीमित साथीहरू माझ गरेका थियौँ। तपाईँहरूले यस्तो असामान्य परिस्थितिमा पनि यति धेरै प्रतिनिधिहरूको सह‌भागितामा गर्नु भएकोमा यो अवश्य सफल हुनेछ'  भन्नुभयो।

भट्टराई केही बिरामी भएकाले उद्घाटन गर्ने बित्तिकै सुवर्णजीकहाँ जानुभयो। सम्मेलन सम्पन्न गर्न सुवर्ण शमशेरले केही आर्थिक सहयोग गर्नुभएको थियो। वीपी. कोइराला र गणेशमान सिंह भारतमा प्रवासी जीवन बिताइरहनु भएको थियो।

प्रहरीहरूको चहलपहल निकै बढ्‌दै गएपछि सम्मेलन बिथोलिने डरले उद्घाटनको पहिलो सेसन अन्त गरी दोस्रो सेसनको लागि चोभारको ठूलो ढुङ्गानिर गरिने सहभागीहरूमा गोप्य जानकारी गराइयो। खाना खाएपछि विद्यार्थीहरू चोभारमा जम्मा भए।

'अखिल नेपाल राष्ट्रिय विद्यार्थी सम्मेलन' को दोस्रो ऐतिहासिक सेसन पनि उत्साही, क्रान्तिकारी विद्यार्थीहरूबीच सम्पन्न हुँदै गयो। कार्यक्रम अनुसार प्रस्तावित घोषणापत्रमाथि छलफल गरिने थियो। तर प्रहरी हस्तक्षेप हुने सम्भावनाले उक्त प्रस्तावित घोषणापत्रलाई पढेर सुनाएपछि केही प्रमुख बुँदाहरूको टिप्पणी बाहेक सर्वसम्मतिबाट घोषणापत्र पनि पारित गरियो। विद्यार्थी एकता, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति सम्मेलनमा सहभागी सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक विद्यार्थीहरूले आफ्नो दृढ ऐक्यबद्धता जाहेर गरे।

२०२७ बैशाख ७ गते : भोलिपल्ट यो दोस्रो दिनको सभामा विद्यार्थीहरू गौशाला पशुपतिको राम मन्दिर पछिल्तिरको पाटीमा जम्मा भए। यो सेसनको सबैभन्दा महत्त्वपूर्ण कार्य प्रस्तावित विद्यार्थी सङ्गठनको विधानबारे छलफल गरी पारित गर्ने थियो।

विधान छलफलको क्रममा सबैभन्दा पहिले विद्यार्थी सङ्गठनको 'नाम' के राख्ने भन्ने विषयमा छलफल चल्यो। छलफलमा मार्सल जुलुम शाक्यले सङ्गठनको नाम 'अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्घ राखियोस् भनी प्रस्ताव ल्याए, तर अधिकांश सहभागीहरूले वामपन्थीको नक्कल गरे झैँ देखिने उक्त नामकरणप्रति असहमति जनाएपछि स्वीकृत हुन सकेन।

यसै बिच 'नेपाल छात्र सङ्घ' राखिनुपर्छ भन्ने प्रस्ताव केही साथीहरूले ल्याए। तर छात्र सङ्घ भनिँदो हामीहरू पर्दैनौँ भनेर सह‌भागी छात्राहरूले विरोध जनाएपछि 'नेपाल विद्यार्थी सघं' नाममा कुरा टुङ्गिने भयो।

तर मार्सल जुलुम शाक्यले आफ्नो अडान नछोडेकोले हात उठाई खुल्ला मत लिने निर्णय भयो खुल्ला मतदानमा अत्यधिक बहुमत 'नेपाल विद्यार्थी सङ्घ' नामको पक्षमा देखिएकोले त्यही नाम पारित भयो।

'नेपाल विद्यार्थी सङ्घ' को नाम पारित भएको घोषणा गरेपछि सहभागी प्रतिनिधि विद्यार्थीहरूले ताली बजाएर सहमति जनाए। नेपाल विद्यार्थी सङ्घलाई छोटकरीमा 'नेवि सङ्घ र अंग्रेजीमा STUDENT UNION OF NEPAL (SUN) भनिने भयो।

 सम्मेलनका सहभागीहरूले प्रजातान्त्रिक अभ्यासद्वारा सङ्गठनको नाम तय गरेपछि विधानका अन्य धाराहरूमाथिको बहस चल्दै थियो। झन्डाको कुरा उठ्यो। सम्मेलनका आयोजक विद्यार्थी नेताहरूले जेलबाट बनाइएका नक्सा अनुरूप तीन-चार फिटको झन्डा तयार गरेका थिए।

सबै विद्यार्थीहरूका अगाडि रातो रङ्गको विशाल कपडाको बिचमा सेतो गोलाकारभित्र कलम र जलिरहेको मशाल चिह्न भएको झन्डा टाँगिदा एकाएक सबैले ताली बजाएर समर्थन गरे।

 सम्मेलनको सुरुदेखि नै त्यहाँ उपस्थित प्रहरीहरूको डफ्फा थप केही टोली प्रहरीहरू थपिँदै गए। विद्यार्थीहरूले विधान उपर छलफल गर्दागर्दै सम्मेलन स्थलमा एक्कासि आक्रमण भयो।

प्रहरीको आक्रमणबाट पनि रत्तिभर विचलित नभई 'विद्यार्थी एकता जिन्दाबाद !' स्वतन्त्र विद्यार्थी सङ्घ जिन्दाबाद !' नारा लगाउँदै सम्मेलन स्थलबाट पङ्क्तिबद्ध रूपमा अगाडि बढ्यो। विद्यार्थीहरूको जुलुस देवपाटनको चौरमा पुगेपछि प्रहरीहरूले चारैतिरबाट घेराउ गरेर रोक्यो। विद्यार्थीहरूले प्रहरीको चार घेराभित्र रहेर प्रस्तावित विधानका अन्य धाराहरू पनि धमाधम पढ्दै थपडी बजाई पारित गर्दै गए।

प्रहरी आँखा अगाडि सम्मेलन एकाएक सम्पन्न हुँदै जाँदा खप्न नसकी व्यापक लाठी चार्ज गर्दै गिरफ्तार गर्न थालियो । शेरबहादुर देउवा, देवेन्द्रलाल नेपाली, अर्जुन नरसिंह केसी., शिवबहादुर खड्का, चिरञ्जीवी वाग्ले, पुरुषोत्तम बस्नेत लगायत ६० जनाभन्दा अधिक विद्यार्थीहरू देउपाटनबाट गिरफ्तारीमा परे। अन्य साथीहरू सम्मेलन सफल बनाउन उम्किए।

प्रहरी हिरासतमा परेका विद्यार्थीहरूलाई ट्रकमा कोचेर त्रिपुरेश्वर प्रहरी कार्यालय हाता (आँखा अस्पताल अगाडि) लगियो। निर्दोष विद्यार्थीहरूलाई प्रहरीहरूले घिच्च्याउँदै अमानवीय रूपमा लैजाँदा जनताले पञ्चायती निरंकुशताप्रति घृणा गर्दै विद्यार्थीहरूप्रति सहानुभूति देखाए। प्रहरीले घिच्च्याउँदै ट्रकमा चढाउने बेलामा केही विद्यार्थीहरूले पानी माग्दा बाटोमा उनीहरूलाई पानी खुवाएका थिए।

पक्राउ परेका विद्यार्थीहरूलाई त्रिपुरेश्वर प्रहरी चौकीमा लगेर प्रहरी अधिकृतले बयान लिए। विद्यार्थीहरूले 'यो हाम्रो विद्यार्थीहरूको विशुद्ध संस्था हो' भन्दा पनि सरकारले मानेन।

'बीपी कोइरालासँग तेरो के सम्बन्ध छ ?' 'तेरो नेता सुवर्ण शमशेरले के भन्छ' आदि प्रश्नहरू गरिए। त्यसै दिन केही विद्यार्थीहरूलाई सामान्य प्रश्न गरी रिहा गरे पनि प्रमुख विद्यार्थी नेताहरूलाई डिल्लीबजार खोरको अँध्यारो कोठामा  राखियो।

(प्रजातान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी सङ्घ पुस्तकको सम्पादित अंश)

वैशाख ६, २०८२ शनिबार १९:२६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।