गाउँमा रमाएका डा. सुमनको उपचार अनुभवः ​​​​​​​भाँचिएका दुवै हात जोड्न पैसा नभएपछि भौंतारिएका ती बालक

गाउँमा रमाएका डा. सुमनको उपचार अनुभवः ​​​​​​​भाँचिएका दुवै हात जोड्न पैसा नभएपछि भौंतारिएका ती बालक

३५ वर्षीय डा. सुमन श्रेष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ हुन्। दुर्गममा रमाएका उनले दुर्गमका बिरामीका कथा र व्यथा  नजिकबाट नियालेका छन्। दुर्गमका बिरामीको औषधी उपचारमा तल्लीन उनै युवा चिकित्सक डा. सुमनले चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्।
 
भाँचिएका दुवै हात नजोडिएपछि भौंतारिएका ती बालक

दुर्गमको चिकित्सकीय  पेसाको शिलशिलामा देखेका केही घटनाहरूले डा. सुमनको मन च्वास्स हुन्छ। गत वर्ष मात्रै दोलखाको चरिकोटमा उपचार गर्दाको एउटा प्रसंग सम्झँदा उनलाई नमीठो लाग्छ। 

प्रसंग गत वर्ष असार/साउनतिरको हो। दोलखाको चरिकोटस्थित छोरोल्पा जेनेरल अस्पतालमा करिब १३ वर्षका बालकलाई उपचारका लागि पुर्याइएको थियो। 

रुखबाट लडेर ती बालकको दुवै हातका नाडी भाँचिएका थिए। परैबाट हेर्दा नै बालकको नाडी भाँचिएर बाङ्गिएको प्रष्टै देखिन्थ्यो। भाँचिएका नाडीको हड्डी गाँस्नका लागि उनका बुवा आमासँग पैसा थिएन। सिन्धुपाल्चोकको गाउँमा सामान्य खेतिपाती गर्ने बुवा आमाले कलिलो छोराको उपचारका लागि पैसा जुटाउनै सकेनन्। छटपट गरिरहनुपर्ने उमेरमा हात नचल्दा बालक शिथिल देखिन्थे । उनको अनुहारमा बादल लागेको थियो ।

नाडी भाँचिएपछि उनका बुवाले ती बालकलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याएछन्। तर, पैसाको अभावका कारण भाँचिएको हातको हड्डी जोड्ने उपचार हुन सकेनछ। पैसाको अभावका कारण छोराको हात नजोडिएकाले छोरो अपांग हुनेभयो भन्ने चिन्ताले बुवाआमालाई सताएको थियो।

बुवा आमाको मन न हो । केहि उपाय लाग्छकि भन्ने झिनो आशा बोकेर ५० वर्षका बुवा छोरालाई लिएर दोलखाको चरिकोटस्थित छोरोल्पा जेनेरल अस्पताल पुगे । अस्पतालमा डा. सुमनलाई भेटेर बालकका बुवाले समस्याको पोको खोले ।

आर्थिक अभावकै कारण उपचार हुन नसकेर बालकले दुःख पाएको देख्दा डा.सुमनको मन खिन्न भयो । पैसाकै कारण भाँचिएका हात (नाडी)को उपचार नभएको थाहा पाएपछि डा. सुमनको टिमले ती बालकको निशुल्क उपचार गर्नका लागि  अस्पताल व्यवस्थापनसँग प्रस्ताव राख्यो । अस्पताल प्रशासनले डाक्टरको टिमले राखेको प्रस्ताव स्विकार्यो । 

डा. सुमनको टिमले ती बालकको भाँचिएका दुवै हातको शल्यक्रिया गर्यो। शल्यक्रिया सफल भयो। बाहिरबाट रड राखेर हात सिधा गरियो। केही दिन अस्पताल बसाइपछि ती बालकलाई अस्पतालबाट डिस्चार्ज गरियो। अस्पतालबाट डिस्चार्ज गरेको एक महिनापछि ती बालकको हात सोझ्याउन राखिएको रड निकाल्न फलोअपमा बोलाइयो। रड निकालियो, बालकको भाँचिएका हात जोडियो। बालकको हात मात्र होइन उनको भविष्य जोडियो। अस्पतालमा खुसियाली छायो।   

बिनापैसा छोराको हात जोडिदिने चिकित्सकप्रति बुवाले शब्दमा त कृतज्ञता व्यक्त गर्न सकेनन्। तर, उनको अनुहार हेर्दा त्यो बुझ्न कठिन थिएन। उनीहरू घर फर्किए। अब बालकले आफै होमवोर्क गर्नेभए। डा. सुमन पनि दंग भए ।

ती बालक त प्रतिनिधि पात्र मात्रै हुन्। दोलखामा यसरी पैसा नै नभएर उपचारका लागि भौंतारिने बिरामीहरू दैनिकजसो नजिकबाट देख्छन्, उनी। पैसाकै अभावका कारण उपचारको अभावमा बिरामीहरू भौंतारिएको देख्दा उनको मन अमिलो हुन्छ। पैसा नहुने धेरै जनाको निःशुल्क उपचार गरेको उनी सम्झन्छन्। 

तिघ्राको हड्डीमा क्यान्सर भएका ती बालक

त्यसैगरी अर्का एक जना बालकको उपचार गरेको प्रसंग पनि डा. सुमन कहिल्यै भुल्दैनन्। प्रसंग केही वर्ष अघिको मात्रै हो। डा. सुमन कीष्ट मेडिकल कलेजमा एमएस अध्ययनका क्रममा थिए। 

करिब १२ वर्षका बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। ती बालकको खुट्टा ठोक्किएका कारण दुखेछ। दुखाई ठिक नभएपछि अस्पताल लगिएको रहेछ। चिकित्सकको टिमले ती बालकको खुट्टाको जाँच गर्यो। एक्स–रे गरियो। एक्स–रे गरेर हेर्दा बालकको तिघ्राको हड्डी भाँचिएको देखियो। 

त्यति मात्र कहाँ हो र थप जाँच गर्दा ती बालकको तिघ्राको हड्डीको तल्लो भागमा क्यान्सर भएको पुष्टि भयो। क्यान्सर भर्खर फैलन शुरू भएको रहेछ।

बालकलाई क्यान्सर भएको थाहा भएपछि उपचार शुरू भइहाल्यो। किमोथेरापी गरियो। अनि शल्यक्रिया गरी क्यान्सर भएको तिघ्राको हड्डी निकालियो। त्यसपछि त्यो निकालिएको हड्डीलाई एक किसिमको रसायनमा डुबाएर क्यान्सरका सेल मारियो। अनि पुनः तिघ्राको हड्डीमा राखेर त्यो हड्डी जोडियो। 

बालकले खुट्टा पनि गुमाउनु परेन। बालकको ज्यान बाँच्यो। बालक क्यान्सर मुक्त भए। बालक बाँचेर घर फर्किए। तिघ्राको हड्डीमा क्यान्सर भएका ती बालकले बेलैमा उपचार पाएका कारण बाँचेको सम्झँदा उनलाई आनन्द लाग्छ। 


‘शव देख्दा डर लाग्थ्यो’

दोलखाको चरिकोटमा २०४७ सालमा जन्मिएका सुमनले स्थानीय त्रिपुरा ग्लोरियस एकेडेमीबाट २०६४ मा एसएलसी गरे। त्यसपछि काठमाडौं आएर उनले हिमालयन ह्वाइटहाउसबाट प्लस टु गरे। 

सुमनलाई सानैबाट डाक्टर बन्ने इच्छा थियो। त्यसैले उनले एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट भए। अनि त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितपुरको ग्वार्कोस्थित कीष्ट मेडिकल कलेजमा सन् २०११ बाट एमबीबीएस अध्ययन गर्न थाले। 

एमबीबीएसमा एनाटोमी विषयको अध्ययनको क्रममा मान्छेको शवको अध्ययन गर्नुपर्ने हुन्छ। शुरूमा त शव देख्दा उनलाई डर लाग्थ्यो। शव छुन मन लाग्दैनथ्यो। घिन लाग्थ्यो। शव हेरेपछि खाना खान मन लाग्दैनथ्यो। तर, अध्ययनको क्रममा शव हेर्नै पर्यो।

अध्ययनको क्रममा डा. सुमनले चिरेको पहिलो शव फर्मलिनमा डुबाएको पुरुषको शव थियो। परिआए गर्नै पर्यो। उनी विस्तारै शव चिरेर अध्ययन गर्न थाले। शव चिर्न बानी पर्दै गए। सन् २०१७ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

गाउँमै रमाएका युवा चिकित्सक

एमबीबीएस अध्ययनपछि डा. सुमनले करिब एक वर्ष करार जागिरे भएर मेडिकल अधिकृतका रुपमा पाटन अस्पतालमा काम गरे। डा. सुमनलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनले थप अध्ययनका लागि तयारी गरे। अनि सन् २०२१ मा कीष्ट मेडिकल कलेजमा नै स्नातकोत्तर तहको हाडजोर्नी तथा नसा रोग (अर्थोपेडिक सर्जरी) विषयमा एमएस अध्ययन थाले। सन् २०२४ मा उनको एमएस अध्ययन पूरा भयो। 

एमएस अध्ययनपछि गाउँमा गएर नै काम गर्ने डा. सुमनको इच्छा थियो। नभन्दै अध्ययन सक्नासाथ उनी जन्मस्थल गाउँ पुगिहाले। अनि गत वर्ष असारबाट दोलखाको चरिकोटस्थित छोरोल्पा जेनेरल अस्पताल पुगेर काम गर्न थाले। हाल उनी छोरोल्पा अस्पतालमा नै कार्यरत छन्। 

शरीरमा भएका विभिन्न चोटपटक, कुनै रोग वा कुनै चोटपटक जस्ता कारणले हड्डी मर्किएको तथा भाँचिएको, मेरुदण्ड र हाड जोर्नीमा भएका समस्याको औषधी उपचार तथा शल्यक्रिया गरी बिरामीलाई सञ्चो बनाउनु डा.सुमनको दैनिकी हो। त्यो पनि विशेषगरी दुर्गम क्षेत्रका बिरामीको उपचार गर्नु उनको दैनिकी बनेको छ। किनकी उनी छन् नै गाउँमा। त्यसैगरी नसा च्यापिएर हातखुट्टा झमझमाउने, युरिक एसिड, बाथ लगायतको समस्या भएका बिरामीको औषधी उपचार गरी सञ्चो बनाउनु डा. सुमनको दैनिकी हो।  

गाउँठाउँमा रुख, भीरबाट लडेर चोटपटक लागेर धेरै बिरामी अस्पताल पुग्ने गरेको उनले सुनाए। तीनै बिरामीलाई उपचार गरी सञ्चो बनाउने कोसिस गर्छन् उनी। अब गाउँमा नै बसेर काम गर्ने उनको इच्छा छ । गाउँघरमा दुःख पाएका बिरामीको औषधी उपचार गर्नमा नै उनी सन्तुष्ट देखिए। विभिन्न दुर्घटनामा परी घाइते भएका लगायतका बिरामीको उनी दोलखामा नै उपचार गर्छन्। 

‘तर एमआरआई, सिटी स्क्यान लगायतका विभिन्न आधुनिक मेसिन, औजार नहुँदा त्यहीँ शल्यक्रिया गर्न सकिने बिरामीलाई पनि अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ। यस्तो देख्दा दुःख लाग्छ,’ डा.सुमनले दुखेसो पोखे ।  दोलखामा १/२ जना मात्रै हाडजोर्नीरोग विशेषज्ञ भएको उनले सुनाए।

वैशाख ६, २०८२ शनिबार ११:५४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।