रौतहटमा आगलागी हुँदा दुई करोड बराबरको क्षति

रौतहटमा आगलागी हुँदा दुई करोड बराबरको क्षति

रौतहट : रौतहटको छुट्टाछुट्टै स्थानमा गएराति भएको आगलागीमा करीब दुई करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।  

बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगलागीमा एक करोड ७६ लाख बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगलागी भएको हो। घरको अन्डर ग्राउण्ड गोदाममा विद्धुतको तार सर्ट भएर आगलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए। 

उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षति पुगेको छ। एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षति पुगेको उनले बताए। आगो सुरक्षाकर्मी, स्थानीयबासी र गौर तथा बैधिमाई नगरपालिकाको दमकलको  सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए।

यसैगरि गौर नगरपालिका वडा न ४ कबीर चोकमा रहेको कृष्णन्नद पटेलको कच्चि घरमा आगलागी भएको प्रहरीले जनाएको छ। सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर , मोबिल, हावाभर्ने टंकी लगायत गरि १४ लाख  बराबरको क्षती पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ। सो घरमा रहेको नास्ता पसलमा पनि आगलागीबाट क्षति पुगेको छ।

घर, वर्कसप र नास्ता पसल गरी २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुवै आगलागीका घटनामा मानवीय र पशु चौपायामा क्षति नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ। 

वैशाख ६, २०८२ शनिबार १०:३७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।