महाकाली अस्पतालको ‘सि-आर्म’ खरिदमा एउटै कम्पनीको मेसिन मात्र योग्य बनाउने बदनियत

काठमाडौं : स्वास्थ्य उपकरण खरिदमा मिलेमतो केन्द्रको मात्र महामारी रहेन। युवा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ‘पारदर्शिता’ को दाबी गरिरहे पनि खरिद मिलेमतो भ्रष्टाचार स्वास्थ्य सेवा विभाग हुँदै प्रादेशिक अस्पतालसम्मै फैलिइसकेको छ।
त्यसैको एक उदाहरण हो महाकाली प्रादेशिक अस्पतालले अगाडि बढाएको ‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’ किन्ने प्रक्रिया। महाकाली अस्पतालले २०८१ चैत ३ (२०२५, मार्च १६) मा करिब ७६ लाख ८० हजारमा एक सेट ‘सी–आर्म’ खरिद गर्नेगरी टेन्डर आह्वान गरेको थियो।
उकेराले यो खरिद प्रक्रियामा अस्पतालले कार्यान्वयन गरेको मापदण्ड र खरिदका लागि बनाएको प्राविधिक स्पेसिफिकेसन अध्ययन गर्दा पहिल्यै मिलेमतो गरेर निश्चित कम्पनीको प्रस्ताव मात्र स्वीकृत हुने गरी बनाएको खुल्यो।
खरिद मापदण्डको अध्ययनमा अस्पतालले भारतीय मेसिन उत्पादक कम्पनी ‘एलेन्जर’को उत्पादन मेसिनको प्राविधिक मापदण्ड मात्रै मिल्ने गरी स्पेसिफिकेसन लक्ड गरेको देखियो।
अस्पतालले चैत २२ (अप्रिल ४) मा प्रिबिड मिटिङ राखेको थियो। प्रिबिड मिटिङमा सहभागी अन्य सप्लायर्सहरुले स्पेसिफिकेसन लक्ड गरेर स्वतन्त्र प्रतिस्पर्धा रोकेको भन्दै संशोधनको प्रस्ताव गरेको खुल्यो। तर अस्पताल प्रशासनले लक्ड स्पेसिफिकेसनकै आधारमा खरिद प्रक्रिया अगाडि बढाइरहेको छ।
प्रिबिड मिटिङपछि ‘सी–आर्म’ खरिदको टेन्डर प्रस्ताव गर्ने र खोल्ने अन्तिम मिति २०८२ वैशाख २ गते (अप्रिल १५) लाई तोकिएको थियो। अहिले सो टेन्डर मूल्याङ्कनको चरणमा रहेको खुल्यो। सी-आर्मको टेन्डरका लागि धनगढीको ‘बालाजी सर्जिकल सप्लायर्स’ र काठमाडौंमा ठेगाना भएको ‘बायोमेड इन्टरनेश्नल’ले टेन्डर प्रस्ताव गरेका छन्। महाकाली अस्पतालका निर्देशक डा. अर्जुन भट्टले सि-आर्मका लागि दुई वटा सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गरेको उकेरालाई बताए।
उकेराको अध्ययनमा बालाजीले भारतीय मेसिन उत्पादक कम्पनी ‘एलेन्जर’को सी-आर्म ल्याइदिने गरी टेन्डर प्रस्ताव गरेको छ भने बायोमेडले उत्पादक कम्पनी ‘किरन’को सी-आर्म ल्याइदिने गरी टेन्डर प्रस्ताव गरेको देखियो।
उकेराले अध्ययन गर्दा गर्दा भारतीय मेसिन उत्पादक कम्पनी एलेन्जरको ‘एचएफ५९’ मोडेलको ‘डिजिस्क्यान एस२०-एस३०’ सिरिजको सि-आर्मसँग अस्पतालले बनाएको प्राविधिक स्पेशिफिकेशन ट्वाक्कै मिल्ने देखियो।
एलेन्जरको क्याटलगमा भएका मुख्य बुँदाहरू अस्पतालले बनाएको सी-आर्मको टेन्डर कागजातको प्राविधिक स्पेशिफिकेशनमा हुबहु कपिपेष्ट नै देखियो। यसले यो खरिदलाई स्वतन्त्र प्रतिस्पर्धाबाट रोकेर मिलेमतोका आधारमा जसलाई चाह्यो त्यसैलाई दिनेगरि खरिद प्रक्रिया अगाडि बढेको पुष्टि हुन्छ।
महाकाली अस्पतालले टेन्डर आह्वान गरेको ‘मोबाइल सी-आर्म (फ्लोरोस्कोपी) मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘एमपीएच-एनसीबी-गुड्स-२०८१-०८२-०५’ हो।
एउटै कम्पनी मात्र योग्य बनाउने बदनियत
महाकाली अस्पतालको मूल्याङ्कनको चरणमा रहेको ‘सी–आर्म’को टेन्डरमा ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ विधि अपनाइएको छ। ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ भनेको ‘दुई खाम विधि’ हो।
यो विधिमा सुरुमा टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीको प्राविधिक मूल्याङ्कन हुन्छ। यसमा प्रस्तावित मूल्य हेरिन्न। प्राविधिक मूल्याङ्कन हुन्छ। जुन प्रस्तावक प्राविधिक रूपमा पास हुन्छन् अनि मात्र प्रस्तावित मूल्य हेरिन्छ।
प्राविधिक मिलेमतो भएका खरिद प्रक्रियामा यो निकै सहज विधि हो। स्पेशिफिकेशनमै निश्चित उत्पादक कम्पनीको उत्पादन मेसिनसँग मात्रै मिल्ने प्रावधान राखेपछि उसैको प्रस्ताव मात्र प्राविधिक रूपमा योग्य हुन्छ, बाँकी असफल।
मिलेमतो नगरी प्रक्रिया अगाडि बढेको अवस्थामा दुई वा दुई भन्दा बढी प्रस्ताव पास हुन सक्छन्। त्यसपछि प्रस्तावित मूल्यको मूल्याङ्कन हुँदा जसले कम मूल्यमा सामान दिने प्रस्ताव गरेको हुन्छ उसैले पाउँछ। मूल्यमा प्रतिस्पर्धा हुन्छ।
प्रस्तावित मूल्यमा प्रतिस्पर्धा नै नहुने भएपछि प्रस्तावित बजेट सिलिङभित्र बसेर जति प्रस्ताव गरे पनि स्वीकृत हुन्छ। प्रतिस्पर्धी नै नहुने भएपछि यस्तोमा सबैभन्दा उच्च मूल्य प्रस्ताव गरिन्छ। अनि उच्च नाफा पाउने प्रस्तावकले रकम मिलेमतोमा संलग्नहरूमाझ बाँडफाँड गर्छ। महाकालीमा यही चलाखी गर्दै स्पेशिफिकेशन प्रारम्भमै लक्ड गरियो र पहिला प्राविधिक प्रस्ताव खोलेर आर्थिक प्रस्ताव खोल्ने विधि अपनाइयो।
महाकालीको टेन्डर प्रस्ताव आव्हान अनुसार दुई कम्पनीले प्रस्ताव गरेको देखियो। तर प्राविधिक स्पेशिफिकेशनका प्रावधान अनुसार एलेन्जरको प्रस्ताव मात्र पास हुनसक्ने देखिन्छ। दुवै प्रस्तावकको प्रस्ताव योग्य हुने सम्भावना अति कम देखिन्छ।
मिलेमतोमा अगाडि बढेको खरिदमा जसले प्रारम्भमै अस्पताल नेतृत्वसँग मिलेको हो उसले बजेट प्रस्ताव गर्दा सिलिङभित्र बसेर उच्च मूल्य नै प्रस्ताव गर्छन्।
बुँदैपिच्छे देखियो लक्ड
महाकाली अस्पतालले आह्वान गरेको एफपिडी प्रविधिको ‘सी-आर्म’को प्राविधिक स्पेशिफिकेशन हेर्दा त्यसका मुख्य बुँदाहरू नै एलेन्जरको उत्पादक मेसिनसँग मात्रै मिल्नेगरी उसकै क्याटलग कपिपेष्ट गरेको देखियो।
उकेराको अध्ययनमा अस्पतालले टेन्डर गरेको ‘सी–आर्म’को प्राविधिक स्पेशिफिकेशनका मुख्य बुँदाहरू भारतीय मेसिन उत्पादक कम्पनी एलेन्जरको ‘एचएफ५९’ मोडेलको ‘डिजिस्क्यान एस२०-एस३०’ सिरिजसँग हुबहु मिल्यो।
महाकाली अस्पतालले बनाएको ‘मोबाइल सी–आर्म (फ्लोरोस्कोपी) मेसिन’को प्राविधिक स्पेशिफिकेशनमा एकदेखि ‘१२.२’ सम्म बुँदाहरू राखिएका छन्। खरिदका लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ‘मोबाइल सी–आर्म (फ्लोरोस्कोपी) मेसिन’को प्राविधिक स्पेशिफिकेशन बनाएर पठाएको थियो।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिक इन्जिनियर आशुतोष भण्डारीले सो स्पेशिफिकेशन बनाएका हुन्। उनले स्पेशिफिकेशन बनाउँदा खुल्ला प्रतिस्पर्धालाई रोक्न प्रारम्भमै बदनियत राखेको देखिन्छ।
बायोमेडिकल इन्जिनियर भण्डारी खरिद सेटिङमा बदनाम बायोमेडिकल इन्जिनियर हुन्। यस अघि बैतडी र दार्चुला अस्पतालमा पनि उनैले ‘सी–आर्म’को स्पेशिफिकेशन बनाएका थिए। उकेराले दुवै अस्पतालको खरिदमा भइरहेको बदमासी प्रमाणसहित सार्वजनिक गरेपछि दुवै टेन्डर रद्द भएको थियो।
बायोमेडिकल इन्जिनियरसँगै अस्पताल प्रमुख, खरिद समिति, प्रशासन प्रमुख र लेखा प्रमुख लगायतको संलग्नताबिना मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढाउन सम्भव हुन्न। अस्पतालको अध्यक्षमा कृष्णानन्द भट्ट छन् भने अस्पताल प्रमुखमा डा अर्जुन भट्ट छन्।
प्राविधिक स्पेशिफिकेशनमा लक्ड गर्न राखिएका केही बुँदा हेरौँ।
महाकाली अस्पतालले टेन्डर आह्वान गरेको ‘मोबाइल सी–आर्म (फ्लोरोस्कोपी) मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.२’ मा ‘जेनरेटर आउटपुट सुड बी ६ किलोवाट (केडब्लु) अर मोर’ भन्ने मापदण्ड राखिएको छ।
यो मापदण्ड नेपालमा रहेका सप्लायर्सहरुले ल्याउने मेसिनहरूमध्ये भारतीय मेसिन उत्पादक कम्पनी एलेन्जरको ‘एचएफ५९’ मोडेलको ‘डिजिस्क्यान एस२०-एस३०’ सिरिजको ‘सि-आर्म’सँग मात्रै मिल्छ।
प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१.५’ मा ‘सुड ह्याभ सिन एमए रेन्जः अप टु ३० एमए अर मोर’ भन्ने राखिएको छ। बुँदा नम्बर ‘४.१.६’ मा ‘सुड ह्याभ रेडियोग्राफी एमए रेन्जः अप टु ६० एमए अर मोर’ भन्ने उल्लेख छ।
यी दुई बुँदा पनि भाषा मिलाएर एलेन्जरको ‘एचएफ५९’ मोडेलको ‘डिजिस्क्यान एस२०-एस३०’ सिरिजको ‘सि-आर्म’सँग मात्रै मिल्नेगरी लक्ड गरिएको देखियो।
प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.२.२’ मा ‘इट सुड ह्याभ डबल फोकल स्पट ०.३ एमएम अर बेटर (स्मल फोकल स्पट) एन्ड ०.६ एमएम अर बेटर (लार्जर फोकल स्पट)’ उल्लेख छ। जुन ‘एलेन्जर’ उत्पादक कम्पनीको ‘सि-आर्म’ मेसिनको प्राविधिक स्पेशिफिकेशनमा भएको बुँदा हुबहु कपिपेष्ट गरिएको देखियो।
अस्पतालले प्राविधिक स्पेशिफिकेशनको फ्ल्याट प्यानल डिटेक्टरको ‘४.४’ मा भएका बुँदा नम्बर ‘४.४.१’, ‘४.४.२’, ‘४.४.३’ र ‘४.४.४’ लगायतका बुँदाहरू एलेन्जरसँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ।
बुँदा नम्बर ‘४.४.३’ मा ‘एफपीडी वीथ साइज एटलिष्ट २०×२० सेन्टिमिटर अर मोर सुड बी प्रोभाइडेड’ लेखिएको छ। यो बुँदा भाषामा मात्रै मिलाएर एलेन्जरसँग नै मिल्नेगरी लक्ड गरिएको छ।
प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.५.१’ मा ‘सुड ह्याभ एटलिष्ट १२” टच स्क्रिन मनिटर अन सि-आर्म क्यारिज अफ दी अपरेटर’ उल्लेख छ। यो बुँदा पनि भाषामा खेलेर एलेन्जरसँग मात्रै मिल्नेगरी लक्ड गरेको देखिन्छ।
त्यसैगरी ‘४.६’ पनि लक्ड नै छ। बुँदा नम्बर ‘४.६.१’ मा ‘...१ नम्बर ३२” कोलोरेड मनिटर विथ स्प्लिट स्क्रिन फर लाइभ एन्ड रिफ्रेन्स इमेज डिस्प्ले मष्ट बी प्रोभाइडेड अन मोबाइल ट्रली,’उल्लेख छ। यो बुँदा पनि लक्ड देखियो।
महाकाली अस्पतालको खरिद प्रक्रियामा रहेको ‘मोबाइल सी–आर्म (फ्लोरोस्कोपी) मेसिन’मा ‘सिडी-डिभिडी-आरडब्लु ड्राइभ, १ युनिट। अर युसएबी कनेक्टिभिटी’ हुनुपर्ने मापदण्ड राखिएको छ।
खरिद प्रक्रियामा देखिएको बदमासीबारे अस्पताल प्रमुख डा. भट्टसँग जिज्ञासा राख्दा उनले दुई कम्पनीले प्रस्ताव पेस गरेको भन्दै खरिद प्रक्रिया पारदर्शी रूपमा अगाडि बढाउने दाबी गरे।
वैशाख ५, २०८२ शुक्रबार १९:३९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।