सडकको उद्घाटन गर्दै ओलीले भने- अहिले चुनाव लाग्या छैन, विकासमा राजनीति नगरौं

चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा राजनीति गर्न नहुने बताएका छन्। प्रधानमन्त्री ओलीले अहिले चुनाव नलागेको भन्दै विकासमा राजनीति नगरेर देश बनाउन सबैजना एकजुट हुनुपर्ने बताए ।
भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गर्दै उनले देश विकासमा मतभेद नराख्न आग्रह गरेका हुन्।
‘अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु प¥या पनि छैन। त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन’, उनले थपे, ‘म आग्रह गर्न चाहान्छु सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन। विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनुपर्नेछ। मतभेदमा होइन एकतामा जोड दिउँ।’
विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गरे। ‘देशको विकास गर्नैुपर्छ। हामी सबै मिलेर विकास गर्ने हो। कोही आएर हाम्रो देश बनाउँदैन। आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ’, उनले भने, “डेमेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु।’ देश विकासका लागि स्थिरता चाहिने भन्दै उनले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताए।
देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको ओलीको दाबी छ।
वैशाख ५, २०८२ शुक्रबार १८:३४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।