३६७ किलो गाँजासहित ५ जना पक्राउ

रौतहट : बारा प्रहरीले विभिन्न स्थानबाट ३६७ किलो १४० ग्राम लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.३ बजनीबाट प्रहरीले लागू औषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका ४ बस्ने राजन लामा , हेटौडा बस्ने ईश्वर लोप्चन र कैलाश गा.पा.१० बस्ने जीवन ठोकरलाई पक्राउ गरेको हो।
हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३०५ किलो लागूऔषध गाँजा सहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले २ किलो १४० ग्राम लागूऔषध गाँजा सहित प्रसौनी गा.पा.वडा नं.४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ६० किलो लागूऔषध गाँजा बरामद गरेको उनको भनाइ छ।
पचरौता न.पा.वडा नं. १ मुसहरीटोल स्थित मकै बारी हुँदै टाउकोमा बोकेर नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको उनले बताए । भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने राजबिहारी कुमारलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दिएको छ ।
यस विषयमा आवश्यक अनुसन्धान र कानूनी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वैशाख ५, २०८२ शुक्रबार १५:१५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।