यु१९ विश्वकप छनोट नेपाल र अफगानिस्तानबीचको टिकट मूल्य दुई सय रुपैयाँ

काठमाडौं : आईसीसी यु१९ विश्वकप अन्तर्गत एसिया छनोटको अन्तिम खेलको टिकट मूल्य दुई सय रुपैयाँ तोकिएको छ।
शनिबार हुने नेपाल र अफगानिस्तानबीचको फाइनल सरहको खेलको टिकट मूल्य नेपाल क्रिकेट संघ (क्यान)ले दुई सय रुपैयाँ तोकेको हो। टिकट आइएमई पेबाट काट्न सकिन्छ।
जारी प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोली अहिलेसम्म अपराजित छन्। नेपालले युएई, हङकङ र ओमानलाई पराजित गर्दा अफगानिस्तानले पनि तिनै टोलीलाई पराजित गरेको हो।
सन् २०२६ मा हुने यु१९ विश्वकपमा लिगको शीर्ष स्थानमा रहेको टोली जाने भएकाले दुवै टोलीका लागि भोलिको खेल महत्त्वपूर्ण छ। अहिले अफगानिस्तान तीन खेलबाट ६ अंकसहित पहिलो स्थानमा हुँदा नेपाल रनरेटमा मात्र कम भएर दोस्रो स्थानमा छ।
नेपाल र अफगानिस्तानमध्ये एउटा मात्र टोली जाने भएकाले शनिबारको खेल रोमाञ्चक हुने देखिएको छ। यद्यपि मौसमका कारण पूरा खेल हुन पाउँछ वा पाउँदैन भन्ने अन्योल छ।
वर्षाका कारण खेल नभएको अवस्थामा अंकतालिकाको आधारमा सोझै अफगानिस्तान विश्वकपमा जानेछ।
वैशाख ५, २०८२ शुक्रबार १४:१८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।