३६७ किलो गाँजासहित बाराबाट पाँच जना पक्राउ

रौतहट : बारा प्रहरीले विभिन्न स्थानबाट ३६७ किलोग्राम गाँजासहित पाँच जना पक्राउ गरेको छ।
जीतपुर सिमरा उपमहानगरपालिका-३, बजनीबाट प्रहरीले गाँजासहित मकवानपुर कैलास गाउँपालिका-४ का ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका-३ का ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० का २७ वर्षीय जीवन ठोकरलाई पक्राउ गरेको हो।
हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा ३०५ किलो लागू औषध गाँजा सहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले २ किलो १४० ग्राम गाँजा सहित प्रसौनी गाउँपालिका-४, खुटवाका ३१ वर्षीय पवन कुमार साहलाई पक्राउ गरिएको छ। ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ६० किलो गाँजा बरामद गरेको उनको भनाइ छ।
पचरौता नगरपालिका-१, मुसहरीटोल स्थित मकै बारी हुँदै टाउकोमा बोकेर नेपालबाट भारततर्फ ओसार पसार गर्दै गरेको अवस्थामा लागू औषध गाँजा बरामद गरिएको उनले बताए।
भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दिएको छ।
यस विषयमा आवश्यक अनुसन्धान र कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
वैशाख ५, २०८२ शुक्रबार १३:२२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।