राष्ट्रिय खेलाडी चोटिल हुँदा देखियो संघको असली रूप : रेनुकालाई एन्फाको साथ, क्यानको उपेक्षामा सिद्धान्त

राष्ट्रिय खेलाडी चोटिल हुँदा देखियो संघको असली रूप : रेनुकालाई एन्फाको साथ, क्यानको उपेक्षामा सिद्धान्त
साढे दुई वर्षअघि चोटिल भएकी राष्ट्रिय फुटबल खेलाडी रेनुका र दुई वर्षअघि चोटिल भएका राष्ट्रिय खेलाडी सिद्धान्त उपचारको क्रममा।

काठमाडौं : तीन वर्षअघि २०७९ असार २० गते नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य रेनुका नगरकोटीको बाँया क्ल्याभिकल बोन (घाँटीमुनिको हड्डी)मा चोट लाग्यो। महिला साफ च्याम्पियनसिपको प्रशिक्षणको दौरामा उनी चोटिल बनिन्।

चोट लाग्नेबित्तिकै अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई अस्पताल भर्ना गर्यो। ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उनको दुई पटक शल्यक्रिया भयो। अस्पताल बस्दाको सबै खर्च राष्ट्रिय खेलकुद परिषद् र एन्फाले नै बेहोर्यो। उपचार गरेको तीन महिनामा फिट भएर मैदान फर्किएकी उनी अहिले राष्ट्रिय टोलीकी नियमित सदस्य हुन्।

उनले भनिन्, ‘पहिलो पटकको शल्यक्रियाको खर्च राष्ट्रिय खेलकुद परिषदले बेहोर्यो भने दोस्रो पटकको शल्यक्रियाको खर्च सबै एन्फाले बेहोर्यो।’

प्रशिक्षणका क्रममा चोटिल भएकी रेनुका उपचारको क्रममा।

त्यस्तै, नेपाल क्रिकेट संघ(क्यान)ले जनकपुरमा आयोजना गरेको महेन्द्रनिधि टी२० प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा २०८० जेठ १९ गते गण्डकी प्रदेशविरुद्धको खेलमा कोशी प्रदेशका कप्तान समेत रहेका सिद्धान्त लोहनीलाई चोट लाग्यो।

जनकपुरमा सामान्य उपचारपछि उनलाई ललितपुरस्थित बी एण्ड बी अस्पताल ल्याइयो, उपचार थालियो। अस्पतालमा उपचारको क्रममा पाँच पटकसम्म शल्यक्रिया भयो। त्यसको सम्पूर्ण खर्च सिद्धान्त आफैँले बेहोरे, क्यानले एक रुपैयाँ पनि दिएन। उपचारकै क्रममा धेरै आग्रह र अनुनयपछि क्यानले बल्ल एक लाख रुपैयाँ दियो।

बी एण्ड बीमा पाँच पटक शल्यक्रिया गर्दा पनि अवस्था सामान्य नभएपछि त्यहाँको बिल तिरेर उनी थप उपचारका लागि भारत हानिएका छन्। अहिले उनको भारतका गुडगाउँस्थित एक अस्पतालमा उपचार भइरहेको छ। त्यहाँ उनको पहिलो शल्यक्रिया भयो। अहिले पनि उनी उपचारकै क्रममा छन्।

०००

रेनुका र सिद्धान्त दुवै राष्ट्रिय खेलाडी नै हुन्। एउटाले राष्ट्रिय टोलीबाट फुटबल खेलिन् भने अर्कोले राष्ट्रिय टोलीबाटै क्रिकेट खेले। तर, दुवै खेलाडीप्रति उनीहरूको अभिभावक संस्था फुटबल संघ र क्रिकेट संघले गर्ने व्यवहारमा आकाश जमिनको फरक देखिएको छ।

खेलाडीको चोटबारे चासो दिएर समयमै उपचार गर्दा रेनुका छिट्टै मैदानमा फर्कन पाइन् भने राष्ट्रिय टिमबाट खेलिसकेका सिद्धान्तको उपचारका क्रिकेट संघले चासो नदिँदा उनी दुई वर्षदेखि अस्पतालको शय्यामा छटपटाइरहेका छन्, क्रिकेट मैदान उनका लागि सपना हुन लागिसक्यो।

एन्फामा खेलाडी बीमा हुदाँ क्यानमा बल्ल सुरसार
फुटबलमा राष्ट्रिय टोलीले राम्रो नतिजा ल्याउन नसके पनि संघले खेलाडीहरुको स्वास्थ्य अवस्थाबारे भने ध्यान दिएको देखियो। संघले खेलाडीलाई चोट लागेको अवस्थामा उपचारमा सहज होस् भनेर उनीहरुको बीमा गरेको एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग बताउँछन्।

‘हामीले अनुमति दिएका टुनामेन्टमा जो-जो राष्ट्रिय टिमका सदस्य खेल्छन्, उनीहरूको बीमा गरिएको हुन्छ। राष्ट्रिय टिममा खेलिरहेकाहरूको सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्छ,’ उनी भन्छन्, ‘पूर्व खेलाडीहरूको पनि केही प्रतिशत बेहोर्छौँ।’

त्यस्तै, फुटबल खेलाडीहरूको संस्था फुटबल खेलाडी संघको अध्यक्ष तथा पूर्व खेलाडी रहेका विक्रम लामा एन्फाले खेलाडीको उपचारमा सहयोग गरेको पुष्टि गर्छन्।

‘राष्ट्रिय टिमबाट खेलेको खेलाडीको राष्ट्रिय टिमबाट खेल्दा पूरै उपचार गर्छ। क्लबबाट खेलेको भए के कस्तो अवस्थामा सहयोग गर्न सकिन्छ भन्नेमा भर पर्छ’, उनी भन्छन्।

एन्फाले खेलाडीहरुको बीमा गर्दा क्यानले भने बल्ल त्यसको प्रक्रिया थालेको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२५ लागेपछि मात्र क्यानले खेलाडीहरुको बीमाको प्रक्रिया थालेको क्यान प्रवक्ता छुम्बी लामा स्वीकार्छन्।

‘हामीले तीन महिनाअघि खेलाडीहरूको बीमा गरेका छौँ। क्रिकेट विकाससँगै आवश्यक कामहरू गर्दै जाने न हो,’ उनी भन्छन्, ‘सिद्धान्तको केशमा हामीले बोर्ड बैठक बसेर निर्णय गर्नेछौँ। उहाँको परिवारसँग पनि म सम्पर्कमै छु।’

उपचारको क्रममा क्रिकेटर सिद्धान्त लोहनी

फुटबलमा खेलाडीको आवाज उठाउनका लागि फुटबल खेलाडी संघ भएजस्तै क्रिकेटमा पनि खेलाडीको आवाज उठाउनका लागि भनेर ‘क्रिकेट खेलाडी संघ’ नामक संस्था छ।

तर, उक्त संस्थाको सचिवमा पूर्व कप्तान तथा अहिलेका क्यानका सचिव पारस खड्का नै छन्। पारस क्यानको सचिव भएसँगै खेलाडी संघ अहिले निष्क्रिय जस्तै छ।

खेलाडी संघले आजको दिनसम्म सिद्धान्तको उपचारको विषयमा आवाज उठाउन सकेको छैन। कुरा राख्नुपर्ने र कुरा सुन्ने ठाउँमा आफैँ हुदा समेत अस्पतालमा छटपटाइरहेका सिद्धान्तको उपचारमा सहयोग गर्नेबारेमा पारस मौन छन्।

२०७८ मै घोषणा भएको खेलकुद बीमा
राष्ट्रिय खेलकुद परिषद्ले २०७८ मंसिरमा खेलकुद बीमालेख नीति कार्यान्वयनमा ल्यायो। नीति कार्यान्वयनमा आएपछि खेल्ने क्रममा हुने चोटपटकदेखि ठूला दुर्घटना समेतको जोखिम न्यूनीकरण हुने भनियो।

नीतिमा नेपालमा खेलिने खेलहरूलाई न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी तीन भागमा वर्गीकरण गरिएको पनि छ। यस्तै दुर्घटना भए तत्काल र १८३ दिनभित्र मृत्यु भएका क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने साथै पार्थिव शरीर व्यवस्थापन खर्च, काजकिरिया खर्च, स्थाई पूर्ण अशक्तता सम्बन्धि व्यवस्था पनि गरेको छ।

तर, यो नीति संघले राम्रोसँग कार्यान्वयन नगरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको आरोप छ। सिद्धान्त लोहनीको विषय र नीति कार्यान्वयनको विषयमा प्रश्न गर्दा उनी खेलाउन अनुमति दिने र खेलाउने दुवैले जिम्मेवारी लिएर खेलाडीको उपचार गर्नुपर्ने बताउँछन्।

‘क्यानले अनुमति दिएको खेल भए क्यान र खेलाउनेको जिम्मा हुन्छ उपचार गर्ने। राखेपले सबै खेलाडीको उपचारको लागि सम्बन्धित संघहरूलाई नै जिम्मा दिएकोले उनीहरूले नै खेलाडीको बीमा गर्नुपर्ने हुन्छ। सिद्धान्तको विषयमा क्यान र मधेश प्रदेश क्रिकेट संघ जिम्मेवार हुनुपर्छ’, उनी भन्छन्।

त्यस्तै, खेलकुद मन्त्री तेजुलाल चौधरी आगामी बजेटमा खेलाडीहरूको उपचारको थप व्यवस्था गर्ने प्रतिबद्धता जनाउँछन्। सिद्धान्तको विषयमा आफू जानकार नभएको भन्दै मन्त्री चौधरीले क्यानका अध्यक्षलगायतका पदाधिकारीसँग बुझ्ने बताए।

वैशाख ५, २०८२ शुक्रबार १२:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।