कान्तिपुर म्याक्समा रोकिएन गैरकानुनी विज्ञापन, विज्ञापन बोर्डले सोध्यो स्पष्टिकरण

कान्तिपुर म्याक्समा रोकिएन गैरकानुनी विज्ञापन, विज्ञापन बोर्डले सोध्यो स्पष्टिकरण

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को प्रसारणको क्रममा गैरकानुनी विज्ञापन बजाएको कान्तिपुर म्याक्स टेलिभिजनलाई विज्ञापन बोर्डले स्पष्टिकरण सोधेको छ।

गैर कानुनी रूपमा डबिङ्ग गरिएको विदेशी विज्ञापन प्रसारण गरेको कान्तिपुर म्याक्स टेलिभिजनलाई बोर्डले बिहीबार स्पष्टिकरण सोधेको बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुरले उकेरालाई जानकारी दिए।

‘कानुन उल्लङ्घन गरी विज्ञापन बजाउने टेलिभिजन (कान्तिपुर म्याक्स)लाई हामीले स्पष्टिकरण सोधिसकेका छौँ,’ उनले उकेरासँगको कुराकानीमा भने, ‘कारबाहीको प्रक्रियामा गइसक्यो।’

कान्तिपुर म्याक्सले विज्ञापन नियमन ऐन विपरीत हुने गरी गैरकानुनी रूपमा डबिङ्ग गरिएका विज्ञापन प्रसारण गरेपछि वैशाख २ गते यसबारेमा उकेराले समाचार प्रकाशित गरेको थियो।

समाचार प्रकाशित भएपछि विज्ञापन बोर्डले बुधबार कान्तिपुर म्याक्सलाई स्पष्टिकरण सोध्ने निर्णयमा पुगेको थियो। सोही निर्णय अनुसार बिहीबार स्पष्टिकरणको प्रक्रिया थालिएको हो।

कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुनुअघिको प्रिम्याच छलफल तथा ओभरको बीचमा भारतीय कलाकारको अभिनयमा नेपाली डबिङ्ग गरेको विज्ञापन प्रसारण हुँदै आएको छ।

टेलिभिजनले प्रिम्याच छलफल युट्युबमा समेत प्रत्यक्ष प्रसारण गर्छ। त्यहाँ पनि गैरकानुनी विज्ञापन प्रसारण भएको देखिन्छ। कानुनको धज्जी उडाउँदै कान्तिपुर म्याक्सले यसको प्रसारण बिहीबार बेलुका समेत जारी राखेको छ।

आईपीएलको प्रिम्याच छलफलको बीचमा युट्युबमा समेत प्रसारण भएको गैरकानुनी विज्ञापन।

टेलिभिजनमा बलिउड अभिनेता कार्तिक आर्यन अभिनित ‘स्मार्ट एन्ड ह्याण्डसम’, बलिउड अभिनेत्री अनुष्का शर्मा फिचर्ड लक्स साबुन र भारतीय कमेडियन किकु शारदा अभिनित नवरत्न तेलको विज्ञापन प्रसारण भइरहेको देखिन्छ।

भारतसहित तेस्रो मुलुकमा बनेको विज्ञापनमा नेपाली भ्वाइस आर्टिस्टलाई डबिङ्ग गर्न लगाएका विज्ञापनले नेपालको विज्ञापन बजारमा नकारात्मक असर पुर्याएको निष्कर्षसहित सरकारले २०७६ मा विज्ञापन नियमन ऐन ल्याएको थियो।

उक्त ऐनमा विदेशी कलाकारको तस्बिर देखिने विज्ञापन उत्पादन गर्न र सञ्चारमाध्यमलाई त्यस्ता विज्ञापन प्रकाशन तथा प्रसारण गर्न रोक लगायो। तर, अझै पनि नेपाली टेलिभिजनहरूमा मुख्यतः भारतीय कलाकारको अभिनय रहेका विज्ञापन नेपालीमा डबिङ्ग गरेर प्रसारण भइरहेका छन्।

विदेशी विज्ञापनहरू प्रसारण गर्न विज्ञापन बोर्डबाट अनिवार्य अनुमतिको प्रावधान समेत रहेको छ। तर, टेलिभिजन व्यवस्थापकहरूले यसको समेत पालना गरेको देखिएन। बिहीबार कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको भारतीय कलाकारहरूको अभिनय रहेको विज्ञापनले यही देखायो।

नान भन्छ- गैर कानुनी काम क्षम्य हुँदैन
नेपाल विज्ञापन सङ्घ (आन) का अधिकारी विदेशी विज्ञापन डबिङ्ग गरेर नेपालमा प्रसारण गर्नु गैर कानुनी रहेको बताउँछन्। आनका अध्यक्ष सुदिप थापाले  यसरी बजाउनु कानुन विपरीत भएको बताए।

‘ऐनलाई नै हेरेर गर्ने हो भने यस्तो कामहरू गर्न नहुने हो। यस्ता विज्ञापनहरू सेन्सर र नयाँ उत्पादन गरेर बजाउनु राम्रो हो,’ उनले उकेरासँग भने।

तर, उनी २०७६ मा बनेको ऐनको विपक्षमा देखिए। डिजिटल मिडियामा क्लिनफिड र कुनै नियम लागू नहुने भए पनि नेपाली मिडिया र विज्ञापन उद्योगमा कडा नीति ल्याइएको उनको दाबी छ।

‘डिजिटल मिडियामा क्लिनफिड लाग्दैन, त्यसलाई ओपन गरिरहेको छौँ,’ उनले थपे, ‘हामीले संस्थागत रूपमा बहस गरेर जाँदा सरकारको हेर्न नजरमै फरक पर्छ।’

उता राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)का अध्यक्षा प्रदीप कोइरालाले आफूलाई यसबारेमा अहिलेसम्म जानकारी नभएको बताए। गैर कानुनी रूपमा भएका गतिविधि क्षम्य नहुने भन्दै कानुनको पालना सबैले गर्नुपर्नेमा जोड दिए।

 ‘मैले खासमा टेलिभिजन नै हेरेको थिइनँ। इलिगलै त गर्न भएन नि! गैर कानुनी काम क्षम्य हुँदैन। नानसँग आबद्ध विज्ञापन एजेन्सीले यस्तो गैरकानुनी काम गर्छन् भने हामी त्यसको जिम्मेवारी लिएर कारबाही प्रक्रिया अघि बढाउँछौँ।’

स्वीकृति नै नलिई प्रसारण हुन्छन् विज्ञापन
विज्ञापन प्रसारण सामग्री परीक्षण सम्बन्धी मापदण्ड २०७८ को दफा ३ मा विज्ञापन सामग्रीको स्वीकृति लिनुपर्ने प्रावधान छ। त्यसको उपदफा १ मा स्वदेश वा विदेशमा उत्पादन भई नेपालमा प्रसारण हुने विज्ञापन सामग्रीलाई नेपालभित्र प्रसारण गर्नु पूर्व बोर्डको स्वीकृति लिनुपर्ने भनिएको छ।

यही प्रावधानमा टेकेर अहिले नेपाल प्रिमियर लिगमा राखिएका विदेशी विज्ञापनबारे समेत राष्ट्रिय खेलकुद परिषद्ले छानबिन गरिरहेको छ।

तर, विज्ञापन एजेन्सीहरू बोर्डमा विज्ञापन प्रसारण गनुअघि अनुमति लिन नआउने गरेको बोर्डका प्रवक्ता डिल्लिराम सुवेदीले बताए। कानुनमा परीक्षणको बाध्यकारी प्रावधान नहुँदा यस्तो भएको उनको भनाइ छ।

बिहीबार राति आईपीएलको इनिङ्स ब्रेकमा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भएको गैरकानुनी विज्ञापन।

विज्ञापन परीक्षणका लागि बोर्डमा विज्ञापन सामग्री परीक्षण समिति छ। समितिमा बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर संयोजक, बोर्डकी प्रमुख प्रशासकीय अधिकृत श्रीदेवी पाण्डे सदस्य सचिव र अर्का एक सदस्य छन्।

‘विज्ञापन परीक्षणका लागि एकदमै थोरै मात्र माग हुन्छ। निवेदन आएर परीक्षणको माग भएको खण्डमा परीक्षण समितिले परीक्षण गर्छ। तर धेरैजसो परीक्षण भएका छैनन्’ उनले भने।

कानुनमा के छ ?
विज्ञापन नियमन ऐनको दफा ६ मा ‘विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने’ भन्ने खण्ड छ। सो दफाको उपदफा ३ मा विदेशी विज्ञापनबारे उल्लेख छ। उक्त उपदफामा ‘विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ्ग गरी प्रसारण गर्न पाइने छैन’ लेखिएको छ।

यसैगरी ‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता २०७९’ को दफा ४ को उपदफा ‘ड’ मा ‘विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ्ग गरी प्रसारण गर्ने’ कार्य गर्न नपाइने भनिएको छ।

सोही आचारसंहिताको दफा १६ मा पनि ‘स्वदेशी वा विदेशी विज्ञापन प्रसारण गर्नुअघि बोर्डबाट परीक्षण गराउनुपर्ने’ उल्लेख छ।

आचारसंहिताको दफा २० मा विज्ञापन प्रकाशन तथा प्रसारण सम्बन्धी आचरणबारे उल्लेख छ। जसको उपदफा ङ को बुँदा नम्बर ७ मा विज्ञापन बोर्डबाट परीक्षण अनुमति प्राप्त नगरी विज्ञापन प्रसारण गर्न वा गराउन नहुने प्रावधान छ।

विज्ञापन सामग्री परीक्षण समितिले प्रसारणको स्वीकृति दिएपछि त्यसको अभिलेखिकरण गरेर मात्र सञ्चारमाध्यमबाट प्रसारण गर्न पाइने व्यवस्था छ। यसरी स्वीकृति नै नभएका विज्ञापन प्रसारण गरेमा विज्ञापनदाता, विज्ञापन एजेन्सी र विज्ञापन प्रसारण गर्ने संस्थालाई पाँच लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ।

वैशाख ५, २०८२ शुक्रबार १०:०९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।