भिमाको उपचारमा अस्पतालले लापरबाही गरेको सुर्खेत अदालतको ठहर, १५ लाख क्षतिपूर्ति भराउन आदेश

भिमाको उपचारमा अस्पतालले लापरबाही गरेको सुर्खेत अदालतको ठहर, १५ लाख क्षतिपूर्ति भराउन आदेश

सुर्खेत : सुर्खेत जिल्ला अदालतले २०८० चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीय भिमा गुरुङ बलामीको उपचारमा अस्पतालले लापरबाही गरेको ठहर गर्दै पीडित परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ।

घटनाको एक वर्षपछि २०८२ वैशाख ३ गते सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासबाट मृतकका श्रीमान् र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने अन्तिम फैसला आएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले जानकारी दिए।

भिमाका ससुरा धनबहादुर मगरले उपचारका क्रममा भएको त्रुटी, हेलचेक्राईं र लापरबाहीबाट नै मृत्यु भएको र क्षतिपूर्ति भराई पाउँ भन्दै ०८१ वैशाख १७ गते प्रदेश अस्पताल, अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजंग शाहीविरुद्ध अन्तरकालीन आदेशको माग गर्दै मुद्दा दायर गराएका थिए।

०८१ वैशाख २१ गते उक्त मुद्दा उपर सनुवाई गर्दै भिमाको शव परीक्षण (पोष्टमार्टम) फरेन्सिक मेडिसिनका विशेषज्ञबाट गर्न अदालतको आदेश थियो। पछि फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती सुर्खेत आएर पोष्टमार्टमको नमुना संकलन गरी नेपालगञ्ज मेडिकल कलेजमा पठाएका थिए। सोही रिपोर्टलाई अदालतले आधार मानेको छ।

फैसलापछि भिमाका श्रीमान् नवराज बलामीले चिकित्सकको लापरवाहीले भएको घटनालाई अदालतले न्याय दिएको बताए।

‘चिकित्सकले गरेको लापरवाहीका कारण मेरी श्रीमतीको ज्यान गयो। आठ महिनाकी छोरीलाई टुहुरो बनाइयो,’ नवराजले भने, ‘हामीमाथि भएको अन्याय विरुद्ध हामी अदालतमा गयौँ। ढिलै भए पनि अदालतले न्याय दिएको छ।’

पीडित पक्षबाट अधिवक्ता शेरबहादुर खत्रीले वहस गरेका थिए।

घटनाको पृष्ठभूमि
तल्लो पेट दुखेपछि ०८० चैत २६ गते दैलेखको आठबीस नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामी दैलेखबाट सुर्खेत झरेकी थिइन्। आठ महिनाकी दुधे छोरी काखमा च्यापेर उपचारका लागि सुर्खेत स्थित एक मेडिकलमा गइन्। चेकजाँच गर्दा पाठेघरमा बच्चाको सालनाल रहेको भन्दै मेडिकलले कर्णाली प्रदेश अस्पतालमा रेफर गर्यो।

२७ गते नै प्रदेश अस्पतालमा पुगेर भिमाले चिकित्सकलाई देखाइन्। चिकित्सकले पाठेघरमा सफा गर्न अप्रेसन गर्नुपर्ने भन्दै २८ गते आउन भने।  भिमाका श्रीमान् नवराज नेपाली सेनामा बुटवलमा कार्यरत थिए। २८ गते नवराज पनि सुर्खेत पुगे। सोही दिन भिमा र नवराज अस्पताल पुगे। भिमा अस्पताल भर्ना भइन्। चैत २९ गते १ बजे उनको अप्रेसन गर्ने समय थियो। ठिक भइहाल्छ भन्दै चिकित्सकले सान्त्वना दिए।

रगत लगायत अप्रेसनमा चाहिने सामग्रीको बन्दोबस्त गरे नवराजले। १ बजे अप्रेसन कक्षमा लगिएकी भिमाको बारेमा चिकित्सकहरूले २:४५ बजे अवस्था अलि जटिल रहेको बताए। जब श्रीमतीको अवस्था बुझ्न नवराज भित्र जाँदा भिमाको श्वासप्रश्वास रोकिएर कृत्रिम श्वासप्रश्वास दिएको देखे। त्यसको १५ मिनेटमै अस्पतालले भिमालाई मृत घोषणा गर्यो। शव बुझ्न परिवारले मानेन।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै एक महिनासम्म उनका आफन्तले आन्दोलन गरे। एक महिनापछि मात्रै अदालतले विज्ञ टोलीबाट पोष्टमार्टम गर्ने अन्तरकालीन आदेश दिएपछि भिमाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए।

अस्पतालले विज्ञप्तिमार्फत रगत बग्ने समस्या भएर आएकी उनको परीक्षण गर्दा पाठेघरमा सालको ट्युमर देखिएको र सोको उपचारको लागि सोही दिन प्रसूति वार्डमा भर्ना गरिएको उल्लेख गरेको थियो।

विज्ञप्तिमा विशेषज्ञ चिकित्सकहरूको सल्लाह बमोजिम २०८० चैत २९ गते एक पिन्ट रगत चढाएपछि पाठेघर सफा गर्न अप्रेसन थिएटर लगेर सफा गरेको उल्लेख छ। त्यसपछि बिरामीमा मोलार प्रिगनेन्सीको एक गम्भीर जटिलता पोल्मोनरी एम्बोलिजम देखा परेको त्यतिबेला अस्पतालले बताएको थियो।

वैशाख ५, २०८२ शुक्रबार ०९:२८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।