थाइल्यान्डमा गाँजा खेती बढ्दा नेपालमा तनाव, भारत पुर्याउन तस्करले बनाए ट्रान्जिट

काठमाडौं : नेपालमा उत्पादित गाँजा भारत तस्करी हुनु नौलो घटना हैन। नेपालमा प्राकृतिक अनि व्यावसायिक दुवै रूपमा उत्पादित गाँजा ठूलो परिमाणमा भारत तस्करी हुने गरेको छ।
पछिल्लो समय नेपालको मात्रै हैन, भारतमा थाइल्यान्डको गाँजा समेत नेपालको बाटो हुँदै पुग्ने गरेको खुलेको छ। पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डबाट नेपाल आउने भारतीय नागरिकहरू पटक-पटक गाँजासहित पक्राउ पर्ने क्रम बढेका छन्।
पछिल्लो समय थाई सरकारले गाँजा उत्पादनलाई प्रोत्साहित गरिरहेको छ। उसले आम नागरिकलाई गाँजा खेतीमा प्रोत्साहित गर्न निःशुल्क गाँजाको बिरुवा समेत बाँडिरहेको छ। यो सँगै नेपालमा गाँजा तस्करीका घटना बढेका छन्।
सरकारले नै १० लाख गाँजाको बिरुवा निःशुल्क बाँड्ने घोषणा गरेको थियो। थाइल्यान्डको सरकारले गाँजाको उत्पादन खुल्ला गर्दै ‘व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नपाउने’ सर्त राखेको थियो।
मेडिकल प्रयोजनका लागि मात्रै प्रयोग गर्न पाउने सर्त राखे पनि थाइल्यान्डमा उत्पादित गाँजा विभिन्न देशमा तस्करी हुने गरेको नेपालकै घटनाले पुष्टि गर्छ।
OOO
२०८१ चैत १४ मा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई भारतीय नागरिकलाई पक्राउ पर्यो। ती थिए मिर्जा मोहम्मद अनवर मोहम्मद बाकर र सैयद राजियाबानो। उनीहरूको साथमा रहेको सुटकेस खोलेर हेर्दा शङ्कास्पद वस्तु फेला पर्यो।
प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर सो वस्तु परीक्षणका लागि पठाउँदा नतिजा आयो गाँजा। पक्राउ परेका २५ वर्षीय मिर्जा र ४९ वर्षीया सैयद मार्फत प्रहरीले भारतको महाराष्ट्रीस्थित 'टोनी' नामका एक व्यक्तिले उनीहरूलाई थाइल्यान्ड पठाएर गाँजा तस्करीमा प्रयोग गरेको खुलायो।
उनीहरूको बयान अनुसार टोनीले दुबैलाई सित्तैमा बैंकक घुम्न पाउने र त्यहाँबाट सामान ल्याएबापत थप १५-१५ हजार भारतीय रुपैयाँ पनि दिने प्रलोभनमा पारेर थाइल्यान्ड पठाएका थिए।
उनीहरू लोभ्भिएर थाइल्यान्ड गए। उनीहरू बसेकै होटेलको कोठामा दुई वटा सुटकेस आयो। उनीहरू त्यही सुटकेस लिएर सिधै थाइल्यान्डबाट भारत गएनन्। उनीहरू हवाई मार्गबाट नेपाल आएर यताबाट स्थलमागर्हुँदै भारत जान त्रिभुवन विमानस्थलमा उत्रिएका थिए।
दुवै सुटकेसमा गाँजाको पोको
उनीहरू २०८१ चैत १४ गते थाई एयरलाइन्सको उडानबाट काठमाडौं झरेका थिए। विमानस्थलको रेड च्यानलबाट बाहिरिने क्रममा प्रहरीले नियन्त्रणमा लिएर उनीहरूको साथमा रहेको सुटकेस खोलेर जाँच गर्न थाल्यो।
मिर्जाको सुटकेसबाट अन्य सामानसँगै १.८ किलो र राजियाबानोको साथमा रहेको सुटकेसबाट १.६ किलो पोका फेला पर्यो। दुवै पोका प्लास्टिक र कपडाले बेरिएको थियो। जुन परीक्षणमा गाँजा निस्कियो। अनुसन्धानमा भारतको मुख्य योजनाकार टोनी देखिए। तर थाइल्यान्डका को थिए नाम खुलेन।
टोनीले दुवैको विमानको टिकट, होटेल बुकिङ लगायतको व्यवस्था गरेको खुल्यो। उनले मोबाइलमार्फत सम्पर्क गरेर उनीहरूलाई भारतबाट नेपाल हुँदै थाइल्यान्ड जाने र थाइल्यान्डबाट पुन नेपाल हुँदै भारत फर्कने रुट मिलाएका थिए।
नेपाल 'ट्रान्जिट हब'
पक्राउ अभियुक्तहरूले दिएको बयान र यसपछि पनि विमानस्थलमा गाँजासहित पक्राउ परेका भारतीयहरूको बढ्दो सङ्ख्याले पछिल्लो समय थाइल्यान्डको गाँजा भारत पूर्याउन नेपाललाई ट्रान्जिट बनाउने गरेको देखिन्छ।
चैत २९ मा विमानस्थलमै थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जना पक्राउ परेका थिए। विमानस्थल प्रहरीले भारतीय नागरिक ३१ वर्षीय रामकुमार र ३८ वर्षीय पडिन्हेर चदिपुरयजेएलसँगै २५ वर्षीय इर्फान अहमद कासलिपारम्बिल बशिरलाई पक्राउ गरेको थियो। यी सबै थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए।
फागुन २१ मा पनि बैंककबाट नेपाल आएका दुई भारतीय नागरिक २२ किलो गाँजासहित पक्राउ परेका थिए।
वैशाख २ मा थाइल्यान्डबाट काठमाडौँ आएका भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन करिब ७ किलो गाँजासहित समातिएका थिए।
वैशाख ४, २०८२ बिहीबार २०:४६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।