प्रधानमन्त्रीले तोकेको ३०० दिनमै सकिएला त त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण ?

प्रधानमन्त्रीले तोकेको ३०० दिनमै सकिएला त त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण ?

काठमाडौं : अहिले कीर्तिपुरमा त्रिवि क्रिकेट मैदान पुनर्निर्माणको काम धमाधम भइरहेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि गरेको पहिलो निर्णय नै त्रिवि मैदानमा ३०० दिन भित्र फ्लड लाइट जडान गर्ने थियो ।  तोकिएको समयसीमा नजिकिँदै गर्दा सरकारले कामलाई तिब्रता दिएको छ ।

प्रधानमन्त्रीले तोकेको ३०० दिन पुग्न अब २३ दिन मात्र बाँकी छ । सहरी विकास मन्त्रालयले वैशाख २४ गते भित्रै निर्माण कार्य सकिने दाबी गर्छ ।

उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानको काममा भएको प्रगति बुझ्न बिहीबार दोस्रोपटक कीर्तिपुर पुगे । त्यहाँ पुगेर उनले काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताए । 

उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मितिभित्र काम सकाउने हिसाबले अगाडि बढेको बताए । 

‘प्रधानमन्त्रीको विशेष चासो भएको प्रोजेक्ट भएकाले योभन्दा अगाडि पनि अवलोकनमा आएका थियौं । र आज हालसम्मको प्रगति बुझ्ने काम भएको छ । यस्तो प्रतिकूल मौसममा पनि काम भइरहेको छ, तोकिएको मिति भित्र काम सकाउने हिसाबले काम अगाडि भएको पाएका छौं,’ उनले भने । 

टियू क्रिकेट मैदानको बारेमा सम्बन्धित व्यक्तिहरूसँग पनि मन्त्रालयमा बोलाएर यसको प्रगतिबारे सोध्ने गरेको उनले बताए ।

वैशाख ४, २०८२ बिहीबार २०:२७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।