प्रहरीको रिक्त ६ एआइजी बढुवा सिफारिसमा ‘राअबी टोली’ पर्न असफल

काठमाडौँ : नेपाल प्रहरीमा रिक्त एआइजीको छ पदको बढुवामा छिर्न राष्ट्रिय अनुसन्धान विभाग समूहका डिआइजीले गरेको प्रयास असफल भएको छ।
अहिले हुने बढुवाको भावी प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएकाले राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका सिद्धिविक्रम शाहसहितको टोली जसरी पनि अहिले नै बढुवामा पर्न दौडधुपमा थिए।
उनीसहितको दौडधुपको प्रभाव सत्ताधारी गठबन्धनमा पर्दा एक महिनादेखि बढुवाको सिफारिसै हुन सकेको थिएन। अन्तमा बिहीबार बढुवा सूची निस्कियो।
बढुवा सूचीमा डा मनोज केसी क्रमसङ्ख्यामा एक तह तल पुगेका छन् भने राजन अधिकारी एक तहमाथि उक्लिएका छन्।
२०८२ वैशाख ४ को बढुवा समितिको बैठकले चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआइजीमा बढुवा गर्न सिफारिस गर्यो।
२०८१ जेठ ५ मा कृष्णहरि, दानबहादुर, डा. मनोजकुमार र राजन एकै पटक एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।
त्यो बेलामा प्रहरीमा २०५१, २०५२, २०५३ र २०५४ मा भर्ना भएका चार ब्याचका एसएसपीहरू बढुवाको प्रतिस्पर्धामा थिए। बढुवा सिफारिस हुँदा २०५२ मा प्रहरी निरीक्षक भएका शर्मासँगै २०५४ का प्रहरी निरीक्षक दानबहादुर,मनोज र राजन बढुवा हुन सफल भए। २०५१ र २०५३ मा प्रहरी निरीक्षक भएकाहरू छुटेका थिए।
पछि डिआइजीमा बढुवा भएका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ लगायतकाहरु पनि अहिले एआइजीको बढुवामा पर्ने कसरतमा थिए। तर सकेनन्।
प्रतिनिधि सभामा पुगेको प्रहरी विधेयक पारित नभए अहिलेका प्रहरी महानिरीक्षक दीपक थापाले भदौ १८ मा अवकाश पाउने छन्। त्यसपछिको आइजिपी हुने अहिले बढुवा सिफारिस भएकामध्ये हुन्। खापुङ र आचार्य आइजिपी भए दुई महिना मात्र हुनेछन्। दानबहादुर कार्की, राजन र मनोजमध्येबाट भए कार्यकाल लामो हुनेछ।
भदौ १८ अगाडि प्रस्तावित प्रहरी विधेयकमा राखिएको प्रावधान जस्ताको त्यस्तै पारित भएमा थापाको कार्यकाल ६ महिना लम्बिनेछ। यही भएर पनि एआइजी बढुवामा निकै रस्साकस्सी चलेको थियो।
सिफारिसमा दानबहादुरले डिआइजी हुँदाको क्रम संख्या जोगाउन सके। राजन एक क्रम संख्या अगाडि बढे भने मनोज एक तह तल झरे।
वैशाख ४, २०८२ बिहीबार १८:११:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।