राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्। 

राप्रपाका नेताहरू रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गरेका हुन्। 

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउदैँ उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाईका लागि कानूनी एवम राजनीतिक दुवै लडाइलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको बताए। 


यस्तै, उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको बताए। 

‘आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने निर्णय गरेको भएको छ। त्यस क्रममा पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय भएको छ । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ,’ उनले भने। 
 
राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनको भनाइ छ।

वैशाख ४, २०८२ बिहीबार १५:४९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।