शैलुनलाई एसी र इन्भर्टर दिन मेयरको तोकादेश, पत्र बाहरिएपछि उपमहानगरमा हंगामा

शैलुनलाई एसी र इन्भर्टर दिन मेयरको तोकादेश, पत्र बाहरिएपछि उपमहानगरमा हंगामा

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको एक तोकादेशसहितको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

हेटौंडा-४, शितलमहल चोकस्थित ‘द नाइनटिन शैलुन’लाई एयर कण्डिसनर (एसी) र इन्भर्टर अनुदान दिने मेयर मीनाकुमारी लामाको तोकादेशसहितको पत्रले चर्चा पाएको हो।

मेयर लामाले शैलुन उद्घाटनका क्रममा एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्। सोहीअनुसार शैलुन सञ्चालक सुसन घलानले वैशाख ३ मा उपमहानगरपालिकामा निवेदन पेश गरे।

पत्रमा लेखिएको छ, ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानका लागि सहयोग गर्छु’ भन्ने कुरा सम्झेर यो निवेदन लिएर उपस्थित भएको छु।’

निवेदनमा उनले गर्मीयाममा ग्राहकलाई आरामदायक सेवा दिन एसी र अनियमित विद्युत आपूर्तिका कारण सेवा सुचारु राख्न इन्भर्टर आवश्यक रहेको उल्लेख गरे।

मेयर लामाले निवेदन प्राप्त भएलगत्तै आर्थिक प्रशासन शाखालाई सामग्री उपलब्ध गराउन तोकादेश दिइन्।

उक्त तोकादेश आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनामार्फत मर्मत संभार इकाइका मेकानिक्स (सहायक चौथो) पुरुषोत्तम कुमार अधिकारीसमक्ष पुग्यो। 

तिमल्सिनाले वैशाख ३ मा नै सामग्रीको लागत अनुमान तयार गर्न आदेश दिए। थप प्रक्रिया उपमहानगरपालिकाले अघि बढाउने गरी पत्र पठाइएको छ।

पत्र बाहिरिएपछि  हेटौंडा उपमहानगरपालिकामा हंगामा मच्चिएको छ। प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन महाशाखाले यसबारेमा बोल्न चाहेका छैनन् भने प्रवक्ताले व्यवसाय प्रोत्साहनको नीति भनेर ढाकछोप गर्न खोजेका छन्।

वैशाख ४, २०८२ बिहीबार १४:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।