बिचौलियाबीच तानातान हुँदा गभर्नर नियुक्त हुन नसकेको अध्यक्ष दाहालको आरोप

बुटवल : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले बिचौलियाको स्वार्थ अनुसार राजनीतिक नियुक्ति गरिरहेको आरोप लगाएका छन्।
प्रेस सेन्टर नेपाल, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले राम्रो काम गर्ने इमान्दार कर्मचारीलाई प्रताडित गरिरहेको आरोप लगाए।
बिचौलियाबीच तानातान हुँदा सरकारले अहिले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको उनको आरोप छ।
‘अहिले बिचौलियाबीच कांग्रेसको की एमालेको गभर्नर हुने लडाइँ भइरहेको छ। गभर्नर जस्तो आर्थिक सुशासन दिने पदमा बिचौलियाको चलखेल बन्द गर्नुपर्छ’, उनले भने।
उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्ति हुनुपर्नेमा सुरुदेखि पार्टीले जोड दिइरहेको बताए। अर्थतन्त्रका समस्या समाधान गर्न सक्ने व्यक्तिलाई गभर्नर नियुक्त गरिनु पर्ने उनको सुझाव छ।
माओवादीले गत फागुन १२ गतेबाट सुरू गरेको तराई-मधेश केन्द्रित जागरण अभियानका क्रममा दाहाल बुधबार सांझ रुपन्देही आएका हुन्।
वैशाख ४, २०८२ बिहीबार १३:४३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।