तीन करोड ८६ लाखको भ्रष्टाचार मुद्दा : विशेष अदालतको सफाइविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त नबुझेर दुईवटा भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दायर गरेका यी मुद्दाहरूमा विशेष अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो।
पहिलो मुद्दामा, जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा गणपति झामाथि दुई करोड ४४ लाख ७१ हजार एक सय ५ रुपैयाँ ५१ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग थियो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ बमोजिम बिगो जफत, कैद र जरिवानाको माग गरेको थियो। तर, विशेष अदालतले २०८१ वैशाख १९ मा झालाई सफाइ दिएको थियो।
दोस्रो मुद्दामा, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण प्रसाद यादवमाथि एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ ४१ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग थियो। विशेष अदालतले २०८१ जेठ २२ मा यादवलाई पनि सफाइ दिएको थियो।
आयोगले अदालतले चाडपर्व खर्चजस्ता रकमलाई आयमा गणना गरेको, श्रोत नखुलेको सम्पत्तिलाई वैध मानेको र सर्वोच्चको नजिरविपरीत फैसला गरेको तर्कसहित पुनरावेदन दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यी फैसलाहरूमा प्रमाणको गलत व्याख्या र कानूनी सिद्धान्तको उल्लंघन भएकोले सर्वोच्च अदालतमा अपील गरिएको हो।
वैशाख ४, २०८२ बिहीबार १२:२२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।