शिक्षक आन्दोलनले भर्ना सहितका सबै कार्यक्रम स्थगित, धमाधम सूचना निकाल्न थाले विद्यालय

शिक्षक आन्दोलनले भर्ना सहितका सबै कार्यक्रम स्थगित, धमाधम सूचना निकाल्न थाले विद्यालय

बुटवल : शिक्षक आन्दोलनका कारण रुपन्देहीमा पनि विद्यालय भर्ना अभियान प्रभावित भएको छ।

सामुदायिक विद्यालयहरूले भर्ना सुरू गर्ने भन्दै निश्चित सिट संख्या तोकेर विज्ञापन गरे पनि शिक्षक आन्दोलन नटुङ्गिएपछि विद्यालयहरूले भर्ना अभियान तत्कालका लागि रोकेका छन्।

विद्यालयहरूले सूचना प्रकाशित गर्दै शिक्षक आन्दोलनको अन्तिम टुङ्गो नलाग्दा सम्म भर्ना अभियान र नतिजा प्रकाशन लगाएका सबै काम अनिश्चितकालिन स्थगित भएको बताएका छन्।

बुटवलका कालिका मानवज्ञान मावि, तिलोत्तमाको शान्ति नमूना मावि, बुटवलका कान्ति मावि र नवीन औद्योगिक कदरबहादुर रीता मावि लगाएका विद्यालयहरूले भर्ना अभियान तत्कालका लागि स्थगित गरेका हुन्।

नविन औद्योगिक कदरबहादुर रीता माविका प्राचार्य प्रेमबहादुर बस्नेतले शिक्षक महासंघ विगतका सम्झौता कार्यान्वयन माग गर्दै शिक्षक महासंघको आम हडतालका कारण पूर्वनिर्धारित विद्यार्थी भर्नालगायत सम्पूर्ण कार्यक्रम स्थगित गरिएको बताए।

‘आन्दोलन टुङ्गिन्छ कि भनेर हामीले भर्ना आव्हान गरेका थियौँ। तर टुङ्गिएन। त्यसैले अहिले अर्को सूचना प्रकाशित नहुन्जेलका लागि भर्ना सहितका सबै शैक्षिक कार्यक्रमहरू स्थगित गरिएको छ’, उनले भने।

कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले पनि शिक्षक आन्दोलनमा ऐक्यबद्धता जायर गर्दै भर्ना अभियानका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको बताए।

‘शिक्षकहरू सबै आन्दोलनका लागि काठमाडौंमा हुनुहुन्छ। भर्ना सहितका कार्यक्रम अब अर्को सूचना जारी नहुन्जेल स्थगित छ’, उनले भने।

विद्यार्थी भर्ना गर्न मुख्यमन्त्रीको निर्देशन
शिक्षकहरू आन्दोलनमा होमिएर भर्नासहित कार्यक्रम प्रभावित भएकै समयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न निर्देशन दिएका छन्।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित प्रदेशमा भर्ना अभियान सुरू भएको अभियानलाई प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यले अपिल गरेका छन्।

मुख्यमन्त्रीले कुनै पनि बालबालिका विद्यालयबाहिर नपरोस् भन्ने संकल्पसहित अभियानलाई सफल बनाउन सबै तह र पक्षको एक ढिक्का प्रयास अपरिहार्य रहेको बताएका छन्। भर्ना दरलाई मात्र हैन, गुणस्तरीय शिक्षा प्राप्तिलाई पनि सुनिश्चित गर्नुपर्ने उनको जोड छ।

आचार्यले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

वैशाख ४, २०८२ बिहीबार ११:५८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।