फिसिङ लिंक पठाएर इ-सेवाबाट एक करोड चोरी, २२ वर्षका राहुल पक्राउ

काठमाडौं : ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई कालिमाटीमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले विभिन्न फिसिङ लिङ्कहरू पठाएर ४ हजार व्यक्तिको ई-सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेका थिए। अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अङ्गुर जिसीका अनुसार उनले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई-सेवामा पहुँच पुर्याएर रकम चोरी गर्ने गरेका थिए।
लिङ्क पठाएपछि खाता सस्पेन्ड हुन लागेको चेतावनी दिनर र भेरिफाईको लिङ्क खोल्न लगाएर व्यक्तिका ई-सेवामा पहुँच पुर्याएको प्रहरीको आरोप छ। उनले सो रकम पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको प्रहरीले जनाएको छ।
वैशाख ४, २०८२ बिहीबार ०१:०९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।