विवादले गभर्नर नियुक्त गर्न नसकेको सरकारमा समस्या नभएको गृहमन्त्रीको दाबी

काठमाडौं : सत्ताधारी दल नेपाली कांग्रेस भित्रै सरकारको कार्यशैलीबारे आलोचना बढेसँगै बसेको उच्चस्तरीय संयन्त्रको बैठकले कांग्रेस र एमालेका बिचमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले दाबी गरे।
कांग्रेसकै महामन्त्री गगन थापाले सार्वजनिक मञ्चबाट सरकारको कार्यशैलीदेखि सरकारको व्यवहारसम्मको कडा आलोचना गरेका थिए। उनले सरकारले विवादित निर्णय गर्ने गरेको भन्दै मन्त्रिपरिषद् बैठक बस्यो कि के निर्णय आउने हो भनेर डर लाग्ने गरेको बताएका थिए।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकपछि गृहमन्त्री तथा कांग्रेसका नेता लेखकले नेताहरूले आफ्नो ढंगले बाहिर बोले पनि सरकारमा कुनै समस्या नभएको दाबी गरेका थिए।
‘हाम्रो बिचमा कुनै समस्या छैन। बाहिर आएका कुरा असत्य हो' उनले भने।
आर्थिक सूचकाङ्क लगायतका तथ्यले नै सरकार सही ट्र्याकमा रहेको पुष्टि गरेको उनको थप तर्क थियो।
गभर्नरबारे लेखक : छिट्टै टुंगो लाग्छ
लेखकले सरकारमा कुनै समस्या नरहेको दाबी गरिरहँदा घटनाक्रमले भने त्यस्तो देखाउँदैन। नेपाल राष्ट्र बैंक नेतृत्वहीन छ। तर गभर्नर नियुक्त हुन सकेको छैन।
एक महिनादेखि नेपाल प्रहरीका अधिकांश एआइजीको पद रिक्त छ। तर बढुवाको निर्णय गर्न सकेको छैन। तर गृहमन्त्री समेत रहेका लेखकले सरकारमा कुनै समस्या नरहेको दाबी गरे।
गभर्नरबारे उनले सिफारिस समितिले प्रक्रिया अघि बढाएर छिट्टै टुङ्ग्याउने दाबी गरे।
शिक्षक आन्दोलनबारे आउने अधिवेशनबाट शिक्षा विधेयक टुङ्ग्याइने दाबी गर्न समेत छुटाएनन्। अबको अधिवेशन बजेटको भए पनि विधेयक सरकारको स्वामित्वको भएकाले सदनमा पेस गरेर पास गर्ने उनको दाबी थियो।
संयन्त्रको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक सहभागी थिए।
एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा पार्टी उपमहासचिव विष्णु रिमाल सहभागी थिए।
वैशाख ४, २०८२ बिहीबार ००:४६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।