अस्पतालको बेडबाट क्रिकेटर सिद्धान्तको प्रश्न ‘मैदानमै घाइते हुँदा पनि उपचार नपाए देशका लागि भनेर किन खेल्ने?

काठमाडौं : नेपाल क्रिकेट संघको आयोजनामा भएको लिगमा खेल्नेक्रममा मैदानमै घाइते भएका कोशी टिमका क्याप्टेन सिद्धान्त लोहनी अहिले उपचारकाक्रममा भारतमा छन्। नेपाल क्रिकेट संघ मधेस प्रदेशले आयोजना गरेको लिग खेल्नेक्रममा उनी मैदानमा लडेर घाइते भएका थिए।
लिगामेन्ट च्यातिएर गम्भीर घाइते भएका उनी करिब दुई वर्षदेखि निरन्तर उपचारमा छन्। नेपालमा पाँच पटक सर्जरी गर्दा पनि ठिक नभएपछि अहिले भारतमा उपचाररत छन्। राष्ट्रिय टिमका सदस्य समेत रहेका उनी घाइते हुँदा क्यानले कुनै वास्ता गरेको छैन।
उनी व्यक्तिगत कारण घाइते भएका थिएनन्, क्रिकेट खेल्दा मैदानमा घाइते भएका थिए। तै पनि क्यान पदाधिकारीले उनको उपचार गर्नु आफ्नो संस्थागत दायित्व सम्झेन। लोहनीका अनुसार अहिलेसम्म उपचारमा २० लाख खर्च भइसक्यो। तर क्यानले जम्मा १ लाख मात्र दिएको छ।
राष्ट्रिय खेलकुद परिषद् मौन छ। खेलकुद मन्त्रालयले वास्ता गरेको छैन। अरू न अरू क्रिकेट लिग खेल्दा मैदानमै घाइते भएका आफ्नो साथी घाइते हुँदा पनि उनकै सहकर्मी अन्य क्रिकेटरहरूले क्यानलाई किन उपचार नगरेको भनेर सोध्न समेत सकेका छैनन्।
क्रिकेट सुधार्ने, खेलाडीको हितमा काम गर्ने भनेर राष्ट्रिय टिमको क्याप्टेन समेत भइसकेका खेलाडी पारस खड्का अहिले क्यानमा निर्णय गर्न सक्ने पद सचिव छन्। तर उनी ‘मेरो पालामा भएको हैन’ भन्ने गैर जिम्मेवार जवाफ दिएर बसेका छन्।
उनै सिद्धान्तको अवस्थाबारे उकेराले मंगलबार समाचार प्रकाशित गरेको थियो। उनले आफूलाई क्यानका पदाधिकारी, खेलकुद परिषद् अनि सरकारले गरेको तुच्छ व्यवहारबारे क्रिकेट प्रेमी र देशका लागि भनेर खेलिरहेका खेलाडीहरूले थाहा पाउन् भनेर उकेरालाई एक भिडियो सन्देश पठाए। त्यही भिडियोमा रहेको उनको सन्देश जस्ताको त्यस्तै :
OOO
नमस्कार, म राष्ट्रिय खेलाडी सिद्धान्त लोहनी। म घाइते भएको २ वर्ष भइसक्यो। अहिले म इन्डियामा छु, गुडगाउँमा अस्ति भर्खर २२ मार्चमा सर्जरी भएको छ। यो छैटौँ पटक सर्जरी भइसकेको छ।
जनकपुरमा महेन्द्रनिधी टी २० क्रिकेट टुर्नामेन्टमा म इन्जर्ड (घाइते) भएँ। मेरो इन्जुरी भए लगत्तै सुरुमा मेरो २०२३ मा सर्जरी भयो। केही दिनको सर्जरी पछि फिजियोथेरापी गराएर घर पुगे, अनि मेरो पेन (दुखाइ) एकदमै धेरै बढेर आयो। अर्का सर्जरी गर्नुपर्यो। मेरो खुट्टामा इन्फेक्सन भइसकेको रहेछ। इन्फेक्सन हुने क्रम दोहोरियो।
नेपालमा बिएण्डबी हस्पिटलमा ५ पटक सर्जरी भयो। यो बिचमा ६ वर्षअघि पनि पिएमकप खेल्दा लिगामेन्ट टिएर (च्यातिएको) भएको थियो। त्यो बेला पनि नेशनल टुर्नामेन्टमा इन्जुरी हुँदा न त क्यानले हेरेको थियो, न राष्ट्रिय खेलकुद परिषद्ले हेरेको थियो।
परिषद्लाई मेरो बिलहरू बुझाएँ, रिर्पोटहरु बुझाएँ। कसैबाट केही सहयोग भएन। फेरी २ वर्षअघि खेल्दाखेरि इन्जुरी भयो। त्यो इन्जुरी हुँदा पनि क्यानको कति सदस्यहरूलाई म्यासेज गरेँ। मैले सुरुमा चतुर सरलाई मेसेज गरेँ। उहाँबाट पनि खासै कुनै रेस्पोन्स आएन।
धेरै ठाउँबाट भनेपछि क्यानबाट मलाई १ लाख सहयोग गर्नुभयो। त्यो बेला मेरो लगभग ३, ४ लाख खर्च भइसकेको थियो। उहाँले मान्छे पठाउनु १ लाख दिन्छु भन्नुभयो। मेरो भाइ गएर १ लाख रुपैयाँ लिएर आयो।
त्यसपछि क्यानका मेम्बरहरूले मलाई केही सोध्नु भएन। त्यसपछि फेरी मेरो इन्फेक्सन भयो, सर्जरी भयो, त्यो बेला क्यानलाई कति मेल गरे। किनभने मेरो मेडिकल बिलहरू बढ्दै गइरहेको थियो। दिनदिनै थेरापी गर्नुपथ्यो।
सुरुमा इन्फेक्सन भएर सर्जरीका लागि काठमाडौँ बस्नुपर्यो। दैनिक फिजियोथेरापी पनि गर्नुपर्थ्यो। दिनको २ हजार फिजियोथेरापी मै जान्थ्यो। खान र बस्ने गर्दा धेरै नै खर्च भयो।
पटक-पटक सर्जरीमा अहिलेसम्म मेरो २० लाख भन्दा बढी खर्च भइसक्यो। काठमाडौँ बस्दा परिवार पनि बस्नु पर्थ्यो। विराटनगर आउँदा जाँदा त्यो बिचमा फिजियोथेरापी, मेडिकल बिल, काठमाडौँमा बस्दा, निकै पैसा खर्च भइसक्यो।
म घरमा लडेको होइन। न त बाटोमा हिँड्दा नै लडेको थिएँ। म राष्ट्रिय प्रतियोगिता हुँदा इन्जुरी भएको भिडियोदेखि सबै प्रमाण छ। म कोशी प्रदेशबाट कप्तानै थिए। गण्डकी विरुद्ध फिल्डिगं गर्ने क्रममा म घाइते भएको थिएँ।
क्यानले सुरुमा हामी गर्छौँ। भनेर धेरै नै आश देखाउनु भयो। अबको बोर्ड मिटिङमा तिम्रो लागि डिसिजन आउँछ भन्ने तर नगर्ने। २ वर्ष भइसक्यो यस्तो भनेको। उहाँहरूको बोर्ड मिटिङ भइरहेको छ। तर अहिलेसम्म केही जवाफ नै आएको छैन।
५- ६ महिनाअघि विराटनगरमा अन्डर १९ नेशनल भएको थियो। त्यो बेला म लट्ठी टेक्दै भए पनि ग्राउन्ड गएको थिएँ। चतुर सर (क्यानका अध्यक्ष चतुर बहादुर चन्द) आउनु भएको थियो ओपनिङ्गमा। सरसँग कुरा गर्दा पक्कै पनि केही हुन्छ भनेर म ग्राउन्डमा गएको थिएँ।
त्यो बेला चतुर सरले भाइ हामी गर्छौँ भन्नु भएको थियो। मैले चतुर सरलाई मात्रै चिन्थेँ। त्यो बेला भर्खर भर्खर बोर्ड गठन भएको थियो। उहाँसँग पदम सर ( क्यानको कोषाध्यक्ष पदम गिरी) हुनुहुन्थ्यो। उहाँ अहिले क्यानमा कोषाध्यक्ष हुनुहुन्छ। उहाँले पनि हामी गर्छौँ भाइ भन्नुभएको थियो।
मैले उहाँलाई पनि धेरै म्यासेज गरे, मेल गरे। कोशी प्रदेशबाट कति चिठ्ठीहरू पनि पठाइसक्नुभयो। प्रदेशबाट पनि बारम्बार मेरो बारेमा कुराहरू उठ्यो। तर पनि रेस्पोन्स केही भएको छैन।
मेरो भर्खरै क्यानका उपाध्यक्ष रोशन सिंहसँग कुरा भएको थियो। उहाँले ‘भाइ म पहिला कोषाध्यक्ष हुँदा ३,४ जना खेलाडीलाई सर्जरी गराएको हो। अब म अहिले उपाध्यक्ष छु। पहिले जसरी गराउन सक्थेँ, अहिले सक्दिन। तर पनि तिम्रो बारेमा पटक पटक मिटिङमा भनेको हो। कोशी प्रदेशको अध्यक्ष पनि थिए त्यो मिटिङमा। उहाँहरू पनि कति पटक बोल्नु भएको हो। तर बाँकी मेम्बरहरूबाट कुनै सहयोग आएन’ भनेर भन्नुभयो।
त्यो सुन्दा झन् मलाई धेरै नै दुख लाग्यो। खेलाडीले देशको लागि भनेर ग्राउन्डमा आफ्नो जिउ ज्यान लगाएर खेलेको हुन्छ तर घाइते भएपछि हामीलाई कसैले पनि हेर्दैन। यस्तै भयो भने हामी कसरी खेल्ने, कुन अवस्थाले खेल्ने?
त्यो भन्दा पनि बेसी दुख मलाई के मा लाग्यो भने, आज भर्खर मिडियाकर्मी हुनुहुन्थ्यो। उहाँको हिजो क्यानको एक जनासँग कुरा भएको थियो मेरो बारेमा।
‘सिद्धान्तको इन्जुरी थाहा नै होला। अहिलेसम्म किन रेस्पोन्स नगरेको, उपचार किन नगर्नुभएको भनेर उहाँले प्रश्न गर्दा क्यानको एउटा ठुलै सदस्यले सिद्धान्त एउटा सम्पन्न परिवारको मान्छे हो, उसले गर्न सक्छ। हामीले अरूलाई त गरेकै हो भन्नुभएछ।
यो भन्दा लाजमर्दो जवाफ के नै होला र। मेरो परिवारको स्थिति के छ भन्नेबारे उहाँलाई त थाहा हुँदैन नि। मान्छेको सधैँ एकै स्थिति हुँदैन। म त एउटा राष्ट्रको खेलाडी हो नि। कहीँ यतिकै लडेको पनि होइन। राष्ट्रिय खेल खेल्दा घाइते भएको हो। हाम्रो प्यारेन्ट्स त क्यान हो नि। त्यो अवस्थामा पनि मलाई क्यानले नहेरे कसले हेर्छ। ममाथि जे व्यवहार भइरहेको छ त्यसले त क्रिकेट खेल खेल्ने माहौल नै रहेनछ भन्ने बुझ्नु पर्यो। कोही खेल खेल्दा लडेर इन्जुरी भयो भने कसैले नहेर्ने रहेछ।
मलाई खासै मिडियामा आउन मन पनि थिएन। उहाँहरूले गर्नुहोला-गर्नुहोला भन्ने आश राखेर लामो समय मौन पनि बसेँ। तर केही पनि भएन। मेरो त्यति धेरै पैसा खर्च भयो तर मेरो खुट्टा जस्ताको त्यस्तै छ। यति धेरै दुख्थ्यो कि म रोएर बस्थेँ। त्यो बेलामा परिवार बाहेक अन्यको साथ पाइन। परिवारको साथले आफूलाई सम्हाल्न सकेँ।
एक्कासि गेमबाट आउट हुदाँखेरी त पहिलो ३-४ महिना त म डिप्रेसनमै जान्छु जस्तो भइसकेको थियो। म हिँड्नै नसक्ने भए। मेरो खुट्टा पनि यस्तो भयो, क्यानले हेरेन। अब म भगवानलाई यति प्रार्थना गर्छु, हिँड्ने मात्रै बनाइदिनु’ त्यस्तै फिल हुन्छ।
क्यानले मलाई हेरेन। मैले दुख पाएँ। तर आगामी पुस्ताले यस्तो दुख नपाउन्। कमसेकम जिल्ला तहदेखि नै प्लेयरहरूको इन्सुरेन्स हुनुपर्यो। अनि न परिवारले पनि आफ्नो बच्चाहरूलाई खेल्न जान दिनुहुन्छ।
अब प्लेयरलाई केही सुरक्षा नै छैन, लड्यो भने कसैले हेर्दैन भने कसरी खेल्ने, कसरी मोटिभेट हुने। देशको लागि खेल्ने त सबैको एउटा सपना हुन्छ। तर त्यसको साथै खेलाडीहरूलाई सेक्युरिटी पनि चाहियो नि।
नेपाली क्रिकेट फ्यानहरू, हजुरहरूको सपोर्टको कारण हामीहरू खेल्छौँ। देशको लागि खेल्ने हो। अन्यायमा परेको बेलामा हजुरहरूले आवाज नउठाए कसले उठाइदिन्छ? यो मेरो लागि मात्रै होइन, यो सम्पूर्ण खेलाडीहरूको लागि हो, जसले देशको लागि खेल्ने सपना देख्नुहुन्छ, नमस्कार।
वैशाख ३, २०८२ बुधबार २३:१६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।