वायुप्रदूषण घटेपछि अनुगमन गर्दै सरकारी संयन्त्र

काठमाडौं : वायु प्रदूषण आपतकालीन अवस्थामा हुँदा मौन रहेको सरकारी संयन्त्र पानी परेर प्रदूषण घटेपछि बोलेको छ ।
अघिल्लो साता ३ दिनसम्म काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर थियो । साता दिनअघि प्रदूषण ३७० एक्युआइ नाघेको थियो अहिले वर्षासँगै एक सय २७ हाराहारीमा पुगेको छ ।
वातावरण विभागले भने अहिले आएर प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने बताएको छ ।
विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि सवारीसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो ।
वायु प्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुगमन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिए ।
प्रदूषण नियन्त्रणका लागि प्रदूषणको अवस्था उच्च हुँदा मात्रै होइन नभइ बाह्रै महिना प्रयासरत रहने विभाग बताउँछ ।
विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिक जन्य फोहर तथा कृषि जन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ ।
वैशाख ३, २०८२ बुधबार २०:१९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।