मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं : चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ। 

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको १८औं बैठकले विशेषगरी चिकित्सा शास्त्रको स्नातक र स्नातकोत्तर तहको कार्यक्रमको सिट संख्या र शुल्कको पुनरावलोकन गरी निर्धारण गर्नका लागि ११ सदस्यीय समिति गठन गर्ने निर्णय भएको आयोगका सदस्य डा. पदमबहादुर खड्काले जानकारी दिए। 

दश दिन भित्र प्रतिवेदन बुझाउने गरी शिक्षा सचिव दिपक काफ्लेको संयोजकत्वमा समिति गठन भएको खड्काले बताए ।

आयोगले सरकारी स्वास्थ्य संस्था (मेडिकल कलेज)को स्नातकोत्तर तह (पिजी) को मात्रै म्याचिङको सूचना निकालेकाले निजी र सरकारी दुवै मेडिकल कलेजको म्याचिङको प्रक्रिया एकै पटक गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए। 

एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउन कठिनाइ हुने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो। विद्यार्थीहरूले उक्त भत्ता नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले आज आयोगको बैठक आह्वान गरेका थिए।

यसअघि गत माघ २५ गतेको आयोगको १६ औँ बैठकले आवासीय चिकित्सकहरूको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह (आठौँ तह)को मासिक रू ४८ हजार निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो । 

सिट सङ्ख्या र शुल्क वृद्धिका विषयमा कार्यदलले अध्ययन गरी सुझाव पेस गरेपछि निजी मेडिकल कलेजले सोही अनुसार आयोगबाट तोकिएको निर्वाह भत्ता दिनुपर्ने र विद्यार्थी भर्नासम्बन्धी ‘म्याचिङ’ सुरू हुनेछ। आयोगको अर्को बैठक यही वैशाख १५ गते बस्ने छ।

वैशाख ३, २०८२ बुधबार १७:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।