माग पूरा नभए सेवा ठप्प पारेर आन्दोलन चर्काउने डाक्टरहरूको चेतावनी

काठमाडौं : मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम् तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा नदिएको भन्दै डाक्टरहरू विगत केही दिनदेखि धर्नामा रहेका छन्।
बुधबार माइतीघर मण्डलामा प्राइभेट मेडिकल कलेजहरूले नमानेको विषयलाई लिएर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले सेतो एप्रोन लगाएर धर्ना कार्यक्रम गरेको हो।
आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषदबाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनु परेको बताए।
‘मन्त्रिपरिषदबाट नै पास भइसकेका कुरा अर्थात् न्यूनतम् तलब ४८ हजार निजी मेडिकलहरूले लागू गरिरहेका छैनन्। अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरू राख्ने परिस्थिति छ। यसले हामीलाई चिन्तित बनाएको छ,’उनले भने,‘सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैन भन्नेजस्तो भयो। हाम्रो हक र हामीले पाउनु पर्ने सेवा सुविधाको लागि यसरी रोडमा आउनु परेको छ।’
उनले यसरी सबै डाक्टरहरू रोडमा आउँदा बिरामीहरूले पाउने सेवामा पनि असर परेको भन्दै आन्दोलनमा आएको १३ दिन बितिसक्दा पनि सरकारले वास्ता नगरेको बताए।
अर्का डाक्टर प्रेम निरौलाले माग सम्बोधन नभए बिहिबार देखि देशभरका सम्पूर्ण ओपिडि बन्द गरेर आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन बाध्य हुने बताए।
‘हाम्रो माग सम्बोधन गर्ने जस्तो संकेत भएन, अन्योलको अवस्था रह्यो भने भोलि देखि देशभरका सम्पूर्ण ओपिडि बन्द गर्ने योजनामा छौ र हामी यो आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन बाध्य हुने।’
उनले सरकारले गरेको निर्णय लागू होस भन्नुको लागि पनि यसरी आन्दोलनमा आउनु पर्ने कुराले एउटा असफल राष्ट्रको संकेत दिएको भन्दै यो एकदमै दुःख लाग्दो कुरा भएको पनि बताए।
वैशाख ३, २०८२ बुधबार १६:०३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।