वीरगन्ज घटनाका दोषीमाथि कारबाही गर्न सामान्य प्रशासन मन्त्रीको निर्देशन

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगन्जको सद्भाव खलबल्याउने घटनामा संलग्न दोषी माथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको उल्लेख गरेका हुन ।
मन्त्री गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक हो, नागरिकहरूले एक अर्काका धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु सह अस्तित्वको आधार हो ।”
झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ताले निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायसँग सम्पर्कमा गरिरहेको उल्लेख गरेका छन् ।
उनले घटनाका दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।
मन्त्री गुप्ताले हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडपबाट सृजना भएको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति चासो देखाएका छन् । झडपपछि दुवै समुदायका प्रतिनिधि र विभिन्न राजनीतिक दलको सर्वदलीय बैठक बसेर घटनाको समीक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त बैठकबाट तयार भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरे । मुलुकको आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगन्जमा सामाजिक सद्भाव खलबल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले सबै वीरगन्जबासीलाई संयमित र सजग रहन अनुरोध गरे ।
वैशाख ३, २०८२ बुधबार १५:०८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।