राष्ट्रपति पौडेलद्वारा संसद्को बर्खे अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गतेका लागि संसद् बैठक आह्वान गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा संसद्का हिउँदे र वर्खे अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
शिक्षक आन्दोलनले दबाबमा रहेको सरकारले विशेष अधिवेशन नबोलाएर बर्खे अधिवेशन बोलाएको हो। यसअघि शिक्षकहरूले विशेष अधिवेशन बोलाएर भए पनि विद्यालय शिक्षा विधेयक पारित गर्न माग गरेका थिए।
अधिवेशन आह्वान भएसँगै विद्यालय शिक्षा विधेयकलाई तीव्रताका साथ काम गरेर पारित गरिने शिक्षा मन्त्री विद्या भट्टराईले बताइन्। अधिवेशन आह्वान भएसँगै उनले शिक्षकहरूलाई कक्षाकोठामा फर्कन समेत आग्रह गरेकी थिइन्।
तर शिक्षकहरू भने यसअघि पनि सरकारले पटक-पटक झुक्याएको भन्दै यसपटक ऐन नलिई कक्षाकोठामा नफर्किने बताइरहेका छन्।
वैशाख ३, २०८२ बुधबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।