आईपीएल : कोलकाताले पछ्याउन सकेन ११२ रनको लक्ष्य, पञ्जाबको नाटकीय जित

काठमाडौं : जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले ११२ रनको लक्ष्य पछ्याउन नसक्दा पञ्जाब किंग्सले १६ रनको नाटकीय जित निकालेको छ।
आईपीएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो। जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५ दशमलव १ओभरमा मात्र ९५ रनमा अल आउट भयो।
कोलकाताले जित निकाल्ने राम्रो मौका गुमायो। ओपनरद्वय सुनिल नराइन र क्विन्टन डि कक २ रनमा आउट भए।
त्यसपछि अजिन्के रहणे र अङकृश रघुबंशीले तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे। रहाणे १७ रनमा आउट भए। अङकृश २८ बलमा ३७ रन जोडेर आउट भए।
भेन्कटेश्वर अयर ७ रनमा, रन्कु सिंह २ रनमा, रमनदीप सिंह रनको खाता नखोली र हर्षित राना ३ रनमा आउट भए। कोलकाताले ७९ रन बनाउँदा ८ विकेट गुमायो। यसपछि आन्द्रे रसल १७ रन र वैभव अरोरा शुन्य रनमा आउट भए।
बलिङमा युजबेन्द्र चाहलले ४ ओभरमा २८ रनखर्चेर ४ विकेट लिए। मार्की जानसेनले ३ विकेट झारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १५ दशलमव ३ ओभरमा अल आउट हुँदै मात्र १ सय ११ रनमा समेटियो। कमजोर ब्याटिङ गरेको पन्जाबका खेलाडीहरू २० ओभर क्रिजमा टिक्न सकेनन्।
प्राभसिम्रन सिंहले सर्वाधिक ३० रन, प्रियान्स आर्याले २२ रन, सशांक सिंहले १८ रन र नेहाल वादेराले १० रन बनाए। अन्यले दोहोरो रनमा अंकमा छुन सकेनन्।
बलिङमा हर्षित रानाले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिए। यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २-२ विकेट लिए।
पन्जाबको यो चौथो जित हो। ८ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ। सातौं खेलमा चौथो हार बेहोरेको कोलकातासँग ६ अंक रहेको छ।
वैशाख ३, २०८२ बुधबार ०७:२०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।