घाइते राष्ट्रिय खेलाडी सिद्धान्त भारतको अस्पतालमा छटपटाइरहेछन्, २० लाख खर्च हुँदा एक लाख दिएर 'दंग' क्यान

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सिद्धान्त लोहनी दुई वर्षअघि चोटिल भएर अहिले भारतको गुडगाउँमा रहेको अर्टिमिस अस्पतालको शय्यामा छन्। कारण क्रिकेट लिग खेल्ने क्रममा लागेको चोट।
२०८० जेठ १९ मा जनकपुरमा भएको गण्डकी प्रदेशविरुद्ध कोशी प्रदेशको खेलमा उनी घाइते भएका थिए।
उनी महेन्द्र निधि टी-२० लिग प्रतियोगितामा सहभागी कोशी प्रदेशको कप्तान थिए। नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिएर मधेश प्रदेश क्रिकेट संघले आयोजना गरेको उक्त प्रतियोगिता २०८० जेठ १५ देखि २६ सम्म जनकपुरमा सञ्चालन भएको थियो।
उनी खेलकै क्रममा घाइते भएपछि उपचारका लागि काठमाडौंको बीएन्डबी अस्पतालमा भर्ना भए। उनको लिगामेन्टमा गम्भीर समस्या देखिएपछि ५ पटकसम्म बीएन्डबीमै अप्रेशन भयो।
पटक-पटक लिगामेन्टको शल्यक्रिया गर्दा पनि ठीक नभएपछि उनी उपचारका लागि भारत गए। अहिले उनी उपचारका क्रममा भारतकै अस्पतालमा छन्।
लोहनीको पारिवारिक स्रोतका अनुसार अहिलेसम्म उनको उपचारका क्रममा २० लाख रुपैयाँ खर्च भइसक्यो। उपचार अझै जारी छ। थप कति रकम खर्च हुने हो थाहा छैन। अभिभावक संस्था क्यानले अहिलेसम्म जम्मा एक लाख रुपैयाँ मात्र दिएको छ। बाँकी उनकै परिवारले खर्च गरिरहेको छ।
लोहनी क्यानको राष्ट्रिय टिमकै सदस्य हुन्। उनी सहभागी प्रतियोगिता क्यानले नै मान्यता दिएको हो। आयोजक संस्था पनि क्यानबाट मान्यता पाएकै संघ हो।
तर जब लोहनी घाइते भए न केन्द्रको क्यान नेतृत्वले उपचारमा वास्ता गर्यो न मधेश प्रदेशको संघले। उनी अलपत्र परे।
उपचारमा सहयोगका लागि उनले पटक-पटक क्यानका अध्यक्ष चतुरबहादुर चन्ददेखि अधिकांश पदाधिकारीलाई मेसेज पठाए। वास्ता नगरेपछि औपचारिक रूपमा आफ्नो अवस्था खुलाउँदै निवेदन समेत दिए।
असार १५ मा उनले क्यानका अध्यक्षलाई सम्बोधन गर्दै क्यानका कोषाध्यक्ष, क्रिकेट मेनेजरदेखि महाप्रबन्धकसम्मलाई बोधार्थ दिए। तर कसैले सहयोगको प्रयास गरेनन्।
त्यो बेलामा उनी नेपालमै थिए। अहिले भारतमा हुँदा पनि उनी उपचारका लागि सहयोगको पर्खाइमा छन्। तर क्यान नेतृत्व गैरजिम्मेवार देखियो।
एक लाख दिँदा क्यानको दायित्व सकियो
राष्ट्रिय टिमको खेलाडी खेलकै क्रममा घाइते हुँदा उपचारको जिम्मेवारी क्यानले लिनुपर्ने हो। तर क्यान नेतृत्व पन्छिरहेको छ। उकेराले यसबारे क्यान पदाधिकारीहरूसँग जिज्ञासा राख्दा उनीहरूले जे उत्तर दिए त्यो निकै लाजमर्दो थियो।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले ‘आफ्नो एकल निर्णयले उपचार गर्न १ लाख दिएको’ दाबी गरे। ‘मैले उनी बिरामी भएकै बेला मेरो निर्णयमा १ लाख दिएको हो। अब त बोर्डबाट निर्णय गर्नुपर्ने हुन्छ,’ उनले भने ‘बोर्डमा पनि यो विषय लगेको छ। थप बुझ्न सचिवज्यूसँग कुरा गर्नु।’
चन्दले क्यान सचिव पारस खड्कासँग सम्पर्क राख्न भनेकाले उकेराकर्मीले उनीसँग सम्पर्कको प्रयास गर्यो। उनले कल उठाएनन्। उनीसँग सम्पर्क राख्न खोजेको कारण खुलाउँदै पठाएको मेसेजको लामो जवाफ पठाए। पछि भने मोबाइल कलमा सम्पर्कमा आए।
खड्का पनि क्यान सचिवको रूपमा घाइते खेलाडीको उपचारको जिम्मेवारी लिने पक्षमा देखिएनन्। उनले ‘क्यानको पहिलो कार्यकालमै उक्त घटना भएको र थप उपचारको लागि बोर्ड बैठकले निर्णय गर्नुपर्ने’ भन्दै टार्न खोजे।
क्यानको स्वीकृतिमा, क्यानसँग आबद्ध संघले आयोजना गरेको प्रतियोगितामा खेल्ने क्रममा घाइते भएका खेलाडीको उपचारको दायित्व क्यानको हैन? भन्ने प्रश्नपछि भने पारस केही नरम भए।
‘पहिलो कार्यकालको समयमा इन्जुरी भएपछि संघले १ लाख दिएको थियो। अहिलेसम्म उहाँलाई थप रकम दिने-नदिनेबारे आधिकारिक निर्णय भएको छैन,’ खड्काले उकेरासँग भने, ‘क्यानले नै प्रतियोगिता आयोजना गर्न दिएको प्रतियोगिता थियो। तर प्रदेशले आयोजना गरेको हो। उहाँको उपचारको लागि क्यानले जे-जति गर्न सक्छ गर्छौं।’
उक्त प्रतियोगिताको आयोजक मधेस प्रदेश क्रिकेट संघका पदाधिकारीहरूसँग बुझ्न सम्पर्क गर्ने उकेराको प्रयास भने सफल भएन।
खेलाडी लोहनी भन्छन् ‘क्यानले वास्तै गरेन’
उपचारका क्रममा भारतको अस्पतालमा रहेका लोहनी क्यान पदाधिकारीले गरेको बेवास्ताबाट खिन्न छन्। क्यानले अहिलेसम्म उपचारका १ लाख रुपैयाँ दिएको अनि त्यो पनि निकै सोर्सफोर्सपछि मात्र पाएको उनको गुनासो छ।
‘पहिला भन्दा त वास्तै गरेनन्। मन्त्रीसम्मलाई भनेपछि सहयोग त गरे तर जम्मा १ लाख रुपैयाँ,’ उनले उकेरासँग भने ‘अहिलेसम्म उपचारमा २० लाख खर्च भइसक्यो। क्यानलाई सहयोगका लागि बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएको छैन।’
उनका अनुसार ५ पटक अप्रेशन गरिसके पनि चिकित्सकले उनलाई अझै अप्रेशन गर्नुपर्छ भनेका छन्। तर उपचार कसरी गर्ने अन्योलमा छन् उनी।
‘क्यानले नै आयोजना गरेको प्रतियोगितामा घाइते हुँदा समेत उपचारमा चासो दिएनन्’ उनले भने ।
लोहनी उमेर समुह हुँदै २०७२ जेठ २७ मा राष्ट्रिय टिममा परेका थिए। उनले राष्ट्रिय टिमबाट एक अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन्।
वैशाख २, २०८२ मंगलबार २३:१३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।