पिताम्बर : दक्षिण भारतीय ‘स्वाद’ मात्रै कि ‘परिकारै’ उताको ?

के एक्सन फिल्ममा कथा चाहिन्न? फिल्म ‘१२गाउँ’ अनि त्यसको सफलतालाई मानक मान्ने हो भने उत्तर सहज छ ‘चाहिन्न’। तर ‘१२ गाउँ’ मानक होइन, अपवाद हो। फिल्म जुनसुकै विधाको किन नहोस्, त्यसको मेरुदण्ड कथा नै हो। अझ एक्सन विधाको फिल्ममा त द्वन्द्व र तनावको शृंखलालाई कायमै राख्दै कथाको संगति टुटाउन हुँदै हुँदैन।
नेपाली चलचित्रमा झन्डै झन्डै लोपोन्मुख अवस्थामा पुगेको एक्सनप्रधान विधालाई पुनः पस्किएर उत्पात व्यापार गरेको ‘१२ गाउँ’सँग अहिले प्रदर्शनरत चलचित्र ‘पिताम्बर’ लाई दाँज्ने हो भने धेरै मानकमा ‘पिताम्बर’ नै बलियो देखिन्छ। तर कथालाई कसी लगाउने हो भने यसले पनि ‘१२ गाउँ’कै लिगेसी पछ्याएको भान हुन्छ।
पिताम्बरको कथाको फ्रेम निकै सरल छ- बदलाको। तराईको परासीलाई केन्द्रमा राखेर बदलाको कथामा नै फिल्म निर्देशन गरेकी छिन् निर्देशक कृषा चौलागाईँले। तर कथा जति सरल छ उति नै गन्जागोल। एकातिर आमाको बदलाका लागि संघर्षरत छोराको कथा जस्तो देखिन्छ ‘पिताम्बर’। अर्कोतिर कथामा सस्पेन्स मिसाउने नाममा निर्देशकले बाबुको खोजीमा संघर्षरत छोराको कथा पनि सँगसँगै मिसाइदिइन्।
परासीमा धनञ्जय राजपुत (प्रमोद अग्रहरी) को आपराधिक राज चल्छ। त्यहाँको कानुन भनेकै धनञ्जयको आदेश हो। त्यहाँ प्रहरी पनि राज्यको कानुन होइन, धनञ्जयको इच्छा अनुसार चल्छन्। परासीका प्रहरी निरीक्षकको भूमिकामा छन् डी राई (दयाहाङ राई)।
पूर्वमाओवादी लडाकु शिला (सुरक्षा पन्त) त्यही गाउँमा चिया पसल चलाएर बसेकी छिन्। उनको एक छोरा छ। श्रीमान्को पत्तो छैन। श्रीमान् नभएकी शिलामाथि गाउँका धेरैको गिद्धेनजर पर्छ। त्यसमा धनञ्जयदेखि उसका सहयोगी (दिव्य देव, अनुपविक्रम शाही) सम्म छन्।
अन्तमा छोरा पिताम्बर (प्रदीप खड्का) को आँखै अगाडि मारिइन्छिन् उनी। यसपछि विकास हुने घटनाक्रम वरिपरि नै चलचित्र केन्द्रित छ।
बलियो पक्ष
यो फिल्मको सबैभन्दा बलियो पक्ष छायांकन हो। फिल्मलाई एक्सन विधामा उम्दा बनाउन कमजोरी सकभर हुन नदिने प्रयास भएको छ। फिल्म हेर्दा ‘म एक्सन फिल्म हेरिरहेको छु है’ भन्नेमा दर्शक कन्फ्युज हुँदैनन्।
सेटअप अर्को सकारात्मक पक्ष हो फिल्मको। पात्र निर्माण र चरित्र चित्रण अनुसारको वेषभूषामा निर्देशकले कुनै कञ्जुस्याइँ गरेकी छैनन्। ब्याकग्राउन्ड म्युजिकमा खोट लगाउने ठाउँ छैन। द्वन्द्वको दृश्यलाई थप रोचक बनाउन बीजीएमले मजाले साथ दिएको छ।
कमजोरीरहित त छैन, तर यस चलचित्रमा प्रयोग भएको भिजुअल इफेक्ट्स पनि यसअघि नेपाली चलचित्रमा देखिनेभन्दा बलियो नै मान्नपर्छ। फिल्मको लाइटिङ र कलर टोनमा पनि राम्रो मिहेनत भएको छ।
अभिनय
अभिनयको सवालमा साढे दुई घण्टाको फिल्ममा छोटो समय मात्र देखापर्ने सौगात मल्ल अनि सुरक्षा पन्तले चलचित्रलाई सर्लक्कै बोकेका छन्।
यसअघिका चलचित्रमा सौगातका संवादशैली प्रायः लाउड हुँदा राम्रा फिल्मले पनि झुर नतिजा दिइरहेका थिए। पिताम्बरमा भने निर्देशक कृषाले सौगातलाई राम्रैसँग प्रयोग गरेकी छिन्। उनको गेटअप, बडी ल्याङवेज अनि संवादको शैली सबै पक्षमा देखिएको सुधारको श्रेय कृषा चौलागाईंलाई स्वाभाविकरूपमा जान्छ नै, उनमा भएको निर्देशनको ज्ञान पनि यसबाट प्रस्फुटित भएको छ।
त्यही ज्ञान अन्य कलाकारको हकमा भने प्रयोग भएको देखिएन। मुख्यतः प्रमोद अग्रहरीको गेटअप र चरित्रचित्रणमा जति मिहेनत भएको छ अभिनयमा त्यो झल्किएको छैन। एकै रेखामा छ उनको अभिनय। चरित्रको विकासक्रम स्थिर छ।
निराश बनाउने अर्का पात्र हुन् प्रदीप खड्का र दयाहाङ राई। यी दुवैको अभिनयमा पनि प्रमोदकै समस्या देखिन्छ । अभिनयको ग्राफ पूरै सपाट। गेटअपले नै अभिनय गर्ने भए बुख्याँचा उभ्याए भइहाल्छ, किन कलाकार चाहिन्छ र! दिव्यदेव र अनुपविक्रमको चरित्रगत आधारमा फरक देखिन्न। दुवैको अभिनय होइन बडीस्ट्रक्चर हाबी भएको छ।
यी दुई पात्रको मात्र अभिनय दाँज्ने हो भने चाहिँ अनुपमाथि दिव्यदेव हावी छन्। सुपुष्पा भट्ट र दिव्या रायमाझी फिल्मका ‘फिलर’ पात्रमै समेटिएका छन्। अन्य स्टारकास्टहरू हुनु र नहुनुले कथामा धेरै फरक पार्दैन। ‘ए यो कलाकार पनि रहेछन्’ भन्ने मात्र हो उनीहरूको उपस्थिति।
दक्षिण भारतीय स्वाद कि परिकारै उताको ?
एक्सन जनराको फिल्मका लागि चाहिने अत्यावश्यक तत्त्व हो उत्कृष्ट एक्सन दृश्य। सामान्यतः फिस्ट फाइट (मारपिट), कार चेस, गनफाइट, विस्फोटन यस्तै यस्तै दृश्यले भरिएका हुन्छन् एक्सन फिल्म। यसमा दक्षिण भारतीय फ्लेभर मिसाउँदा टाउको काटेर बोकेर हिँड्ने, काट्दा शरिरबाट रगतका छिर्का निस्किएका पीओभी सटहरू पनि मिसिन थालेका छन्।
पिताम्बरमा पनि यी तत्त्व हुने नै भए। विस्फोटसँगै अधिक हिंसात्मक क्लोज सटहरू देखिन्छ नै। तर एक्सन जनाराको फिल्मले खोज्ने अर्को पक्ष भनेको बलियो नायक र उस्तै बलियो खलनायक पनि हो, जो शारिरीक रूपमा पनि सुगठित होस्। जो साहसी र संकटमा पनि अडिग रहने चरित्रका होऊन्।
मुख्य पात्रलाई टक्कर दिने शक्तिशाली खलनायक नभए त के एक्सन फिल्म भन्नु! तर पिताम्बरका खलपात्र गेटअप र सेटअपमा मात्र शक्तिशाली देखिन्छन्, द्वन्द्वमा फितलो। फिल्ममा यतिधेरै स्लोमोसनको प्रयोग भएको छ कि दिक्कै लाग्छ। स्लोमोसन हटाउने हो भने पनि फिल्म २० मिनेट जति त पक्का छोटो हुन्छ।
अर्को समस्या, नायक र खलनायकबीच सरल तर प्रभावशाली द्वन्द्वको निर्माण गर्न चुकेकी छिन् निर्देशक। द्वन्द्वका मुख्य दुई पात्र प्रदीप र प्रमोद हुन्। तर यी दुवै पात्रमाथि शारिरिक बनोटदेखि डायलगसम्ममा एसपी बनेका सौगात हाबी हुनुले पनि निर्देशकको चुक देखिन्छ।
एक्सन जनरामा अर्को अनिवार्य पक्ष भनेको स्टन्ट कोरियोग्राफी, स्पेशल इफेक्ट्स, साउन्ड डिजाइन र क्यामरा वर्कको प्राविधिक कुशलता पनि हो। यसमा फिल्म पूरै फिट छ। तर कथालाई निरन्तर अगाडि बढाउँदै रोमाञ्चक बनाइराख्ने गतिशील पेसको निर्माणमा भने निर्देशक कृषा कमजोर देखिइन्।
पटकथा र मूल चरित्रको चरित्र निर्माणमा कमजोर छ फिल्म। टुक्रा टुक्रा जोडेर फिल्म बनाएको अनुभव हुन्छ फिल्म हेर्दा। आमा मारेको दृश्यमा देखिएका छोराको दृश्य होस् या अति मिल्ने साथीको हत्याको प्रसंग, दर्शकसँग फिल्मका पात्रहरूको भावनात्मक सम्बन्ध नै स्थापित हुन्न।
जस्तो खलपात्रको चरित्र हेर्दा रिस उठ्नुपर्ने हो नि दर्शकलाई। तर ‘पिताम्बर’का पात्रहरूको अवस्था हेरेर न दर्शकको मनमा सहानुभूति जाग्छ न त खलपात्रप्रति रिस नै उठ्छ। बबाल देखियो है भन्नेसम्म भने हुन्छ।
सौगातको प्रवेशपछि फिल्मको लय केही बदलिन्छ। उनले कथाको गति अलि सम्हाल्ने प्रयास गरेका छन्। तर प्रेमकथाको नाटकीयपनले फिल्मलाई थप कमजोर बनाइदिन्छ।
सस्पेन्स र तनाव निर्माण गर्न पिताम्बरको बाबु को हो अनि नागरिकता बन्न नसक्दाको पीडाबाट उप-कथाको निर्माण भएको छ। तर त्यो पनि त्यति शक्तिशाली बन्न सकेको छैन।
भिलियनले प्रयोग गरेको मेसिनगनको आकार एनिमलमा रणवीर कपुरले चलाएको भीमकाय हतियारको नमुना जस्तो देखिन्छ। डिएसपी राईले गोली हान्दाको हातको पोजिशन उस्तै उदेक लाग्दो देखिन्छ।
एसपी बनेका सौगातलाई फरार आरोपी चिनाउँदा तस्विरको तल लेखिएको हुन्छ ज्यान मार्ने उद्योग। तर डीएसपी राई बनेका दयाहाङ भन्छन् २ सय जना मारेर फरार भएको।
अरे, दुई सय जना मार्ने ज्यान मार्ने उद्योग? त्यसलाई उद्योग भनिन्न। उद्योग त हत्या प्रयासलाई हो भन्ने। मारेपछि भनिन्छ कर्तव्य ज्यान। यस्ता मसिना त्रुटि टन्न छन् फिल्मको स्क्रिप्टमा जसले लेखकको कमजोरी देखाउँछ।
दक्षिण भारतीय फिल्मको प्रभावकै कारण भए पनि नेपालमा बनेका एक्सन फिल्महरूमा प्रविधिको प्रयोगमा सुधार देखिँदै आएको छ। अगस्त्य, १२ गाउँ र अहिले चलिरहेको 'कर्मा'मा पनि त्यसको प्रभाव देखिन्छ। पिताम्बरमा निर्देशक कृषाले थप मिहिनेत गरेकी छिन्। फिल्म हेर्न रुचाउने ठूलो समूहलाई आकर्षित गर्न उनले गरेको मिहिनेत फिल्ममा पनि देखिन्छ।
तर फिल्म छायांकन भएको नेपालमै भएको अनि फिल्मका कलाकारहरू पनि नेपाली नै भएकाले मात्र यसलाई नेपाली फिल्म मान्न सकिन्छ। फिल्मको दृश्यांकन, फिल्ममा समेटिएका हिंसात्मक दृश्य, कलाकारको गेटअप अनि मेकअप र चरित्र निर्माणमा प्रयोग भएको टेम्प्लेटले सर्लक्क तेलगु भाषामा डब गर्ने हो भने यो ‘तेलगु फिल्म’ हो वा नेपाली छुट्याउनै सकिन्न।
कृषाले फिल्म निर्माणको ग्रामर सर्लक्कै तेलगु फिल्मबाट सापटी लिएकी छिन्। नेपालको कथा र कलाकार लिए पनि दक्षिण भारतीय स्वाद मिसाउने क्रममा निर्देशकले परिकारै उताको पस्किएकी छिन्। यसलाई ‘ओहो साउथ फिल्मको लेभलमा बनाएँ’ भनेर आत्मरतीमा रमाउने कि अर्को पटक सुधार गर्ने, त्यो उनकै निर्णय।
यति हुँदाहुँदै पनि निर्देशक कृषाको सबैभन्दा ठूलो सफलता भनेको क्षमतालाई लिङगसँग लगेर हेर्ने सामाजिक दृष्टिकोणमाथिको व्यवहारबाटै कडा प्रहार हो। कलामा क्षमता हेर्ने हो, लिंग हैन भन्ने उनले पिताम्बरको निर्देशनबाट पुष्टि गरेकी छिन्। ‘ए महिला पो निर्देशक’ भनेर नाक खुम्च्याउनेहरूलाई फिल्म पिताम्बर मार्फत गालामा डाम बस्ने गरी झापड हानिन् निर्देशक कृषाले।
वैशाख २, २०८२ मंगलबार २२:२१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।