प्रसूति गृहमा शुरु भयो सिमुलेशन ल्याब

प्रसूति गृहमा शुरु भयो सिमुलेशन ल्याब

काठमाडौं : परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल (प्रसूति गृह)ले ‘मातृ तथा नवजात शिशु सिमुलेशन ल्याब’ सञ्चालनमा ल्याएको छ।  मंगलबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेसँगै  प्रसूति गृहको कुपण्डोल शाखामा रहेको भवनमा ल्याब सञ्चालनमा आएको हो। 

उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास गरिने बताए । उनले बाँकी ६ प्रदेशमा पनि मातृ शिशुको विशिष्टिकृत उपचार र जनशक्ति विकासका काम क्रमसँग अघि बढाउने दाबी गरे । 

मन्त्री पौडेलले मातृ शिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत बताए । 

सिमुलेशन ल्याब राज्यकै उत्कृष्ट ल्याबका रुपमा निर्माण गरिएको अस्पतालले जनाएको छ। यो ल्याबले विशेषगरी चिकित्सक, नर्स, अ.न.मी तथा मिडवाइफको क्लिनिकल र निर्णय लिनसक्ने सीपको सिकाइको विकास गर्ने उद्देश्य रहेको अस्पतालका निर्देशक डा श्री प्रसाद अधिकारीले जानकारी दिए।

मातृ शिशु स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मीका लागि चिकित्सकीय विधिको अभ्यास गर्न यो ल्याबले थप सहजता हुने अस्पतालले जनाएको छ। गर्भवतीको स्वास्थ्य परीक्षण कक्ष, प्रसव कक्ष, सुत्केरी परीक्षण कक्ष र नवजात शिशु हेरचाह इकाइको वातावरण सृजनाका लागि यो ल्याबको सिकाई लाभदायक हुने अस्पतालले जनाएको छ।
 

वैशाख २, २०८२ मंगलबार १९:५८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।