पार्टीको जागरण अभियान सफल भइरहेको छ माओवादी अध्यक्ष प्रचण्डको दाबी

नवलपरासी : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई-मधेस जागरण अभियान जनताको बीचमा आत्मसमीक्षासहित देशको स्थिति बुझाउन सफल भइरहेको दाबी गरे। अभियानका क्रममा मंगलबार कावासोती पुगेका उनले जनतामा रहेको भ्रम र असन्तुष्टि चिर्न अभियान सफल बन्दै गएको दाबी गरेका हुन्।
'विगतमा हामीले सरकार र काठमाडौँ केन्द्रित कुरामा अलि बढी ध्यान दियौँ भन्ने कमजोरी स्वीकारेपछि देशव्यापी अभियान सुरु भएको छ। यसक्रममा आफ्नो विचार, मुद्दा, आफ्नो वर्ग समुदाय र जनतासँगको सम्बन्धलाई जोड्नुपर्छ भनेर अभियानमा जुटेका हौँ', अध्यक्ष प्रचण्डले भने, 'यो अभियानले जनतामा ठूलो उत्साह थपिरहेको छ। सबै वर्गका जनतामा सकारात्मक उभार आएको छ।'
पछिल्लो परिवर्तन र गणतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादीको भएकाले त्यो जिम्मेवारी पूरा गर्न जनताको घरदैलोमा हिँडेको र देशमा देखिएको असन्तुष्टि अन्त्यका लागि माओवादीले पहल गरिरहेको उनको भनाइ छ।
काठमाडौँमा भइरहेको शिक्षकहरूको आन्दोलनबारे धारणा राख्दै पूर्वप्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौताअनुसार काम अगाडि बढेको दाबी गरे। वर्तमान सरकारले शिक्षकको जायज माग पूरा गर्नुपर्ने र त्यसका लागि यसअघि भएका सहमतिलाई आधार मान्नुपर्ने उनले बताए।
वैशाख २, २०८२ मंगलबार १९:३२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।