सरकारलाई राष्ट्रपतिको निर्देशन- सहकारी समस्यालाई सुल्झाउन गम्भीर भएर लागौं

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा गम्भीर भएर लाग्न निर्देशन दिएका थिए।
मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकट ग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी गराएका थिए।
सहकारी पीडितहरूले लामो समयदेखि आन्दोलन गरिरहेका छन्।
वैशाख २, २०८२ मंगलबार १८:००:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।