नयाँ वर्ष : सैलुङको सुन्दरतामा रमाए १० हजार पर्यटक

नयाँ वर्ष : सैलुङको सुन्दरतामा रमाए १० हजार पर्यटक

रामेछाप : प्राकृतिक एवं धार्मिक पर्यटकीय स्थल सैलुङमा नयाँ वर्षमा घुम्न जानेहरू ह्वात्तै बढेका छन्। नयाँ वर्ष २०८२ को पहिलो दिन झण्डै १० हजार मानिसले सैलुङ भ्रमण गरेको स्थानीय व्यवसायी दावासाङबु शेर्पाले जानकारी दिए।

समुद्री सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा रहेको सैलुङको दृश्य निक्कै रोमाञ्चक छ। प्राकृतिक रूपमा बनेका माटाका एक सय भन्दा बढी थुम्का र ती थुम्कामा गलैँचा ओछ्याए झैँ गरी उम्रिएको दुबोले शैलुङ सजिएको छ। साथै यहाँबाट देखिने हिमशृङखलाले सैलुङको सुन्दरतालाई बढाइदिएको छ।

सैलुङलाई हिन्दु र बौद्ध धर्मावलम्बीले पवित्र तीर्थस्थल मान्छन्। हिन्दु धर्मावलम्बीले यो भूमिलाई शिवले ध्यान गरेको भूमि मान्छन् भने बौद्ध धर्मावलम्बीहरूले बुद्धले पाइला टेकेको भूमि मान्छन्।

जाडो महिनामा हिउँ पर्ने सैलुङमा बाह्रै महिना चिसो हुन्छ। वर्षा याममा विभिन्न जातका भुईँफूल फुल्ने सैलुङमा अहिले विभिन्न जातका गुराँस र चिमाल फुलेका छन्। यति बेला गुराँस र चिमालले शैलुङ सिँगारिएको छ।

यस बाहेक चौँरी हेर्नेलाई पनि शैलुङ महत्त्वपूर्ण गन्तव्यको थलो बनेको छ। शैलुङ क्षेत्रमा चर्ने चौँरी र चौँरीका दूधबाट बनेका परिकार समेत खाना पाउने भएकोले पर्यटकहरूका लागि यो रमणीय गन्तव्य बनेको छ । 

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने सैलुङसम्म पुग्न रामेछाप र दोलखा दुवै तिरबाट सडक बनेको कारण अहिले सैलुङको यात्रा सहज बनेको छ। त्यसैले सैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ।

सैलुङमा जनै पूर्णिमा, चैतको पूर्णिमा र नयाँ वर्षमा मेला लाग्ने गरेको छ। यहाँको मेला भर्न रामेछाप सहित दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक, काठमाडौं उपत्यका लगायतका स्थानबाट मानिसहरू आउने गर्दछन्।

वैशाख २, २०८२ मंगलबार १५:४५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।