सत्ताधारी दलका नेताबीचको खटपट सार्वजनिक, कुरा मिलाउन ओली-देउवा भेट

काठमाडौं : गठबन्धन सरकारलाई सघाउन बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार एक कार्यक्रममा ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म रहेको’ सार्वजनिक गरेसँगै राजनीतिक वृत्तमा तरङ्ग फैलियो।
पछिल्लो समय सरकारले गरेका हरेक नियुक्तिहरूमा बिचौलियाको छायाँ परिरहेको छ। नियमनका लागि बनेका सरकारी निकायहरूमा आफू निकटका व्यक्तिलाई लगेर आर्थिक स्वार्थ पुरा गर्न व्यापारिक समूहपिच्छे नै बिचौलिया समूह सक्रिय देखिएका छन्।
धितोपत्र बोर्डदेखि नेपाल बीमा प्राधिकरणसम्मको नियुक्तिमा बिचौलिया समूहको प्रभाव देखिएकै हो। अहिले नेपाल राष्ट्र बैंकको गभर्नर जस्तो महत्त्वपूर्ण पदको नियुक्तिमा पनि को सक्षम भन्दा पनि को कुन समूहको उम्मेदवार भन्ने सार्वजनिक वृत्तमै छलफल भइरहेको छ।
यस्तो बेलामा थापाले सार्वजनिक मञ्चबाटै यो सत्य उजागर गरे। उनले निश्चित कुनै प्रधानमन्त्रीको समय तोकेर भनेनन्। उनले समग्र प्रवृत्ति उजार गर्दै मंगलबार एक सार्वजनिक कार्यक्रममा भने ‘हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो। बिचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ। बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। नेतृत्वको बेडरुमसम्म हुने भयो।’
उनले कार्यक्रममा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ त्यसमा बिचौलियाको प्रभावबारे समेत बोलेका थिए। पहिला राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा गभर्नर यो बन्ला की त्यो बन्ला भन्ने कोणबाट छलफल हुने गरेकोमा अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस भइरहेको भन्दै प्रश्न गरेका थिए ‘हामी कहाँनेर पुग्यौँ?’
प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली भएकाले हुनसक्छ एमाले नेताहरू सरकारको विपक्षमा बोलेका छैनन्। उनीहरू सरकारको गलतै काम भए पनि प्रतिरक्षामा उत्रिन्छन्। तर सरकारको मुख्य सहयोगी कांग्रेसका नेताहरू भने सार्वजनिक रूपमै सरकारको आलोचना गरिरहेका छन्।
शेखर कोइराला प्रारम्भदेखि नै सरकारको आलोचक देखिएका छन्। कांग्रेस सांसदहरू पनि सरकारको विपक्षमा बोलिरहन्छन्। सरकारलाई सघाउन बनेको संयन्त्रमा रहेका नेताहरू भने मौन थिए। संयन्त्रमै रहेका गगनले मंगलबार मुख खोले। त्यसको तरङ्गले सत्ताको नेतृत्व गरिरहेको एमालेको नेतृत्व तरङ्गित हुनु स्वाभाविकै थियो। भयो पनि।
हतार हतार ओली-देउवा भेट
कांग्रेसका नेताहरूबाट सार्वजनिक रूपमै सरकारको गतिविधिको आलोचना हुने क्रम बढेपछि असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग यही विषयमा छलफल गरे।
मंगलबार बिहान दुवै नेताबीच बालुवाटारमा करिब एक घण्टा भएको छलफलमा उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा छलफल भएको थियो। सो छलफलमा छिट्टै संयन्त्रको बैठक राखेर यसबारे छलफल गर्ने सहमति भएको प्रधानमन्त्री सचिवालयको दाबी आयो।
वैशाख २, २०८२ मंगलबार १५:३२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।