कान्तिपुर म्याक्समा प्रसारण हुन्छ गैर कानुनी विज्ञापन, होला त पाँच लाख जरिवाना !

काठमाडौं : कान्तिपुर म्याक्स टेलिभिजनमा भारतीय कलाकारहरू भएको डबिङ विज्ञापन बजिरहेको छ। २०७६ सालमा जारी भएको विज्ञापन नियमन ऐनको यसलाई गैर कानुनी भनेको छ।
तर, कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को बिचमा अहिले पनि भारतीय कलाकारको अभिनय रहेको नेपालीमा डबिङ गरेको विज्ञापन बज्छ।
कान्तिपुर म्याक्स टेलिभिजनले 'स्मार्ट एन्ड ह्याण्डसम' को विज्ञापन प्रसारण गरेको छ, जसमा भारतीय अभिनेता कार्तिक आर्यन देखिन्छन्। त्यस्तै भारतीय अभिनेत्री अनुष्का शर्मा अभिनीत लक्स साबुनको विज्ञापन पनि डबिङ भएरै प्रसारण भइरहेको देखिन्छ।
उकेराले कान्तिपुर म्याक्सको समेत जिम्मेवारी पाएका कान्तिपुर टेलिभिजनका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुरजसिंह ठकुरीलाई यसबारे जिज्ञासा राख्दा उनले थाहै नभए झैँ गरे।
डबिङ गरेको विज्ञापन प्रसारण गर्न नहुनेबारे उनी जानकार देखिए। तर, कान्तिपुर म्याक्समै त्यस्तो विज्ञापन प्रसारण भएकोबारे उनको प्रतिक्रिया थियो- ‘ओहो, त्यस्तो भइरहेको छ र!’
नेपाली भाषामा डबिङ गरिएका भारतमा निर्मित विज्ञापनको संख्या उच्च थियो नेपालमा। नवरत्न तेल होस् या कोकाकोला, लक्स साबुन लगायत नेपाली बजारमा समेत राम्रै प्रभाव भएका भारतीय उत्पादनहरूको प्रचारमा भारतमै, भारतीय कलाकार प्रयोग गरेर निर्माण भएका विज्ञापन प्रसारण हुन्थ्यो।
भारतसहित तेस्रो मुलुकमा बनेको विज्ञापनमा नेपाली भ्वाइस आर्टिस्टलाई डबिङ गर्न लगाएका विज्ञापनले नकारात्मक असर पुर्याउने गरेको भन्दै सरकारले २०७६ मा विज्ञापन नियमन ऐन ल्याउँदै विदेशी कलाकारको तस्बिर देखिने विज्ञापन उत्पादन गर्न र सञ्चारमाध्यमलाई त्यस्ता विज्ञापन प्रकाशन तथा प्रसारण गर्न रोक लगायो। तर, अझै पनि नेपाली टेलिभिजनहरूमा मुख्यतः भारतीय कलाकारको अभिनय रहेका विज्ञापन नेपालीमा डबिङ गरेर प्रसारण भइरहेका छन्।
विदेशी विज्ञापनहरू प्रसारण गर्न विज्ञापन बोर्डबाट अनिवार्य अनुमतिको प्रावधान समेत रहेको छ। तर, टेलिभिजन व्यवस्थापकहरूले यसको समेत पालना गरेको देखिएन। वैशाख १ मा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को बिचमा प्रसारण भएको भारतीय कलाकारहरूको अभिनय रहेको विज्ञापनले यही देखायो।
के भन्छ विज्ञापन सङ्घ?
नेपाल विज्ञापन सङ्घ (आन) का अधिकारी विदेशी विज्ञापन डबिङ गरेर नेपालमा प्रसारण गर्नु गैर कानुनी रहेको बताउँछन्। आनका अध्यक्ष सुदिप थापाले त्यसरी बजाउने काम भइरहेको भए त्यो गलत भएको बताए।
‘ऐनलाई नै हेरेर गर्ने हो भने यस्तो कामहरू गर्न नहुने हो। यस्ता विज्ञापनहरू सेन्सर र नयाँ उत्पादन गरेर बजाउनु राम्रो हो,’ उनले उकेरासँग भने।
तर, उनी २०७६ मा बनेको ऐनको विपक्षमा देखिए। डिजिटल मिडियामा क्लिनफिड र कुनै नियम लागू नहुने भए पनि नेपाली मिडिया र विज्ञापन उद्योगमा कडा नीति ल्याइएको उनको दाबी छ।
‘डिजिटल मिडियामा क्लिनफिड लाग्दैन, त्यसलाई ओपन गरिरहेको छौँ,’ उनले थपे, ‘हामीले संस्थागत रूपमा बहस गरेर जाँदा सरकारको हेर्न नजरमै फरक पर्छ।’
‘अनुगमन गर्ने जनशक्ति नै छैन’
विज्ञापन प्रसारण सामग्री परीक्षण सम्बन्धी मापदण्ड २०७८ को दफा ३ मा विज्ञापन सामग्रीको स्वीकृति लिनुपर्ने प्रावधान छ। त्यसको उपदफा १ मा स्वदेश वा विदेशमा उत्पादन भई नेपालमा प्रसारण हुने विज्ञापन सामग्रीलाई नेपालभित्र प्रसारण गर्नु पूर्व बोर्डको स्वीकृति लिनुपर्ने भनिएको छ। यही प्रावधानमा टेकेर अहिले नेपाल प्रिमियर लिगमा राखिएका विदेशी विज्ञापनबारे समेत राष्ट्रिय खेलकुद परिषद्ले छानबिन गरिरहेको छ।
विज्ञापन कानुनको नियमन गर्ने अधिकार विज्ञापन बोर्डसँग छ। तर, बोर्ड लाचार देखियो नियन्त्रणमा। बोर्डका प्रवक्ता डिल्लीराम सुवेदीले बोर्डलाई यस बारेमा जानकारी नभएको त बताए नै उनले अनुगमन गर्न पर्याप्त कर्मचारी नभएको भन्दै लाचारी देखाए।
‘देखिएको खण्डमा हामीले त्यो अनुसार कारबाहीको प्रक्रिया अघि बढाएका हुन्छौं। अनुगमनका लागि पूरै जनशक्ति नभएकाले हामीले काम गर्न सकेका छैनौँ’, उनले लाचारी व्यक्त गरे।
तर, यसरी प्रसारण भइरहेका विज्ञापन प्रसारणको लागि बोर्डमा स्वीकृति लिन नआएको प्रवक्ता सुवेदीले स्वीकारे। कानुनमा परीक्षणको बाध्यकारी प्रावधान नहुँदा यस्तो भएको उनले बताए।
विज्ञापन परीक्षणका लागि बोर्डमा विज्ञापन सामग्री परीक्षण समिति छ। समितिमा बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर संयोजक, बोर्डकी प्रमुख प्रशासकीय अधिकृत श्रीदेवी पाण्डे सदस्य सचिव र अर्का एक सदस्य छन्।
‘विज्ञापन परीक्षणका लागि एकदमै थोरै मात्र माग हुन्छ। निवेदन आएर परीक्षणको माग भएको खण्डमा परीक्षण समितिले परीक्षण गर्छ। तर धेरैजसो परीक्षण भएका छैनन्’ उनले भने।
कानुनमा के छ ?
विज्ञापन नियमन ऐनको दफा ६ मा ‘विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने’ भन्ने खण्ड छ। सो दफाको उपदफा ३ मा विदेशी विज्ञापनबारे उल्लेख छ। उक्त उपदफामा ‘विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन’ लेखिएको छ।
यसैगरी ‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता २०७९’ को दफा ४ को उपदफा ‘ड’ मा ‘विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्ने’ कार्य गर्न नपाइने भनिएको छ।
सोही आचारसंहिताको दफा १६ मा पनि ‘स्वदेशी वा विदेशी विज्ञापन प्रसारण गर्नुअघि बोर्डबाट परीक्षण गराउनुपर्ने’ उल्लेख छ।
आचारसंहिताको दफा २० मा विज्ञापन प्रकाशन तथा प्रसारण सम्बन्धी आचरणबारे उल्लेख छ। जसको उपदफा ङ को बुँदा नम्बर ७ मा विज्ञापन बोर्डबाट परीक्षण अनुमति प्राप्त नगरी विज्ञापन प्रसारण गर्न वा गराउन नहुने प्रावधान छ।
विज्ञापन सामग्री परीक्षण समितिले प्रसारणको स्वीकृति दिएपछि त्यसको अभिलेखीकरण गरेर मात्र सञ्चारमाध्यमबाट प्रसारण गर्न पाइने व्यवस्था छ। यसरी स्वीकृति नै नभएका विज्ञापन प्रसारण गरेमा विज्ञापनदाता, विज्ञापन एजेन्सी र विज्ञापन प्रसारण गर्ने संस्थालाई पाँच लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ।
वैशाख २, २०८२ मंगलबार १५:०६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।