रुपन्देहीका सामुदायिक विद्यालयको बढ्दो लोकप्रियता : प्रवेश परीक्षा अनिवार्य, भर्ना पाउनै मुस्किल

रुपन्देहीका सामुदायिक विद्यालयको बढ्दो लोकप्रियता : प्रवेश परीक्षा अनिवार्य, भर्ना पाउनै मुस्किल

बुटवल : सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै जाँदा कतिपय विद्यालयहरू मर्ज भएका छन् भने कतिपय बन्द हुने अवस्थामा छन्। तर, रुपन्देहीका केही सामुदायिक विद्यालयमा भने विद्यार्थी संख्या थेगिसक्नु छैन। विद्यार्थीहरूको चाप बढ्ने भए पनि विद्यालयहरूले भर्ना लिने समयमै निश्चित कोटा छुट्टाउने गरेका छन्।

सीमित पूर्वाधारका बीच विशिष्टकृत शिक्षण सिकाइ र क्रियाकलापमा अब्बल मानिएका रुपन्देहीका केही सामुदायिक विद्यालयहरूमा वर्षेनी अभिभावकको आकर्षण बढेको छ। जहाँ नयाँ शैक्षिक सत्रमा भर्ना पाउन ‘ठूलै सोर्स’ नै लगाउँदा पनि मुस्किल पर्छ।

विद्यार्थीहरूको बढ्दो चाप कम गर्न विद्यालयहरूले नै भर्ना खुलाउँदा निश्चित सिट संख्या निर्धारण गरेर भर्ना खुलाउन बाध्य भएका छन्। यसरी निश्चित कोटा निर्धारण गरेर भर्ना खुले पनि विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। तब मात्र विद्यार्थीहरू स्कुलमा पढ्न पाउँछन्।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय देशैभरमा सबैभन्दा बढी विद्यार्थी हुने विद्यालय हो। यहाँ अंग्रेजी र नेपाली माध्यमबाट अध्ययन हुन्छ। यस विद्यालयमा धेरै अभिभावकहरूले आफ्ना सन्तानलाई अध्ययन गराउन चाहन्छन्। तर, निश्चित सिट संख्याका कारण हजारौं अभिभावकहरू आफ्ना सन्तानको भर्ना नपाएर फर्कन बाध्य हुन्छन्।

यस विद्यालयले यस शैक्षिक सत्रका लागि साढे ४ सय नयाँ विद्यार्थीका भर्ना गर्ने योजना बनाएको छ। गत वर्ष चार सय नयाँ विद्यार्थीका लागि भर्ना सिट निर्धारण विद्यालयले गरेको थियो। ४ सय नयाँ विद्यार्थी भर्नाका लागि खुलाइएको प्रवेश परीक्षामा २ हजार ७ सय विद्यार्थीहरू सहभागी भएका थिए।

‘हामीले कक्षा १० उत्तीर्ण गरेको खाली संख्या र केही अन्य कक्षाहरूमा खाली भएका सिटका आधारमा विद्यार्थीको नयाँ भर्ना लिने हो। चाहेर पनि अभिभावकको माग सम्बोधन गर्न सकिँदैन’, विद्यालयका प्राचार्य दिनेश थापाले भने।

यस वर्ष पनि प्रवेश परीक्षामा २ हजार ५ सय भन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा विद्यालयले गरेको छ। यस वर्ष विद्यालयले कक्षा १० र कक्षा ९ को नेपाली र अंग्रेजी माध्यमका लागि सिट संख्या नछुट्याउने बताएको छ। कक्षा नौ को टेक्निकल विषयमा मात्र नयाँ विद्यार्थीलाई भर्ना लिइने प्राचार्य थापाले बताए।

हाल विद्यालयमा ७ हजार ७ सय ५० विद्यार्थीहरू छन्। विद्यालयले सेक्टर ए र सेक्टर बी गरेर दुई स्थानमा छुट्टाछुट्टै भवन बनाएर अध्यापन गराउँदै आएको छ। प्राचार्य थापा प्रयाप्त पूर्वाधार नहुँदा र शिक्षकको समस्याका कारण पनि सिट संख्या निर्धारण गरेर नयाँ विद्यार्थी भर्ना लिनु परेको बताउँछन्।

‘हामीकहाँ माथिल्लो कक्षामा भर्ना हुन आउने विद्यार्थीहरूको संख्या बढी छ। यसलाई हामी कम गर्ने प्रयासमा छौँ। सानो कक्षामा भर्ना लिन आउने संख्या निकै कम छ’, उनले भने।

कालिका मानवज्ञान मात्र होइन, बुटवल देविनगरस्थित नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरूले भर्ना पाउन मुस्किल छ। यस विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्म जम्मा ३६० जना नयाँ विद्यार्थी भर्ना लिने गरी सिट निर्धारण गरेको छ। विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतले विद्यालय व्यवस्थापनको क्षमताका आधारमा नयाँ भर्नाका लागि सिट निर्धारण गरिएको बताए।

विद्यालयले नर्सरीमा ८०, केजीमा १३, कक्षा १ मा ७, कक्षा २ मा ३५, कक्षा ३ मा २६, कक्षा ६ मा ४३, कक्षा ४, ५ र ७ मा ३÷३ जना नयाँ विद्यार्थीका लागि सिट संख्या निर्धारण गरेको छ। त्यस्तै कक्षा ८ मा १ सय, कक्षा ९ मा १० र कक्षा ९ को सिभिल इन्जिनियरिङमा ४८ जना सिट संख्या तोकेको छ।

गत वर्ष यस विद्यालयले ६ सय ७६ जना नयाँ भर्ना गरेको थियो। १६ सयले प्रवेश दिएका थिए। यस वर्ष पनि सोही हारहारीमा प्रवेश परीक्षामा विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ। विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले भौतिक संरचनाको अभावकै धेरै विद्यार्थी भर्ना गर्न नसकिने बताए।

‘कक्षा कोठा नै छैनन्। शिक्षकहरू पनि गर्न सक्ने अवस्था छैन’, उनले भने।

बुटवलको कान्ति माविले नयाँ शैक्षिक सत्रका लागि ६ सय विद्यार्थी भर्ना लिँदैछ। अघिल्लो वर्ष साढे ७ सय विद्यार्थी नयाँ भर्ना गरेकोमा यस वर्ष डेढ सय कम विद्यार्थी भर्ना गर्ने तयारी विद्यालयले गरेको छ। विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयको क्षमता अनुसार ५ हजार ६ सय कुल विद्यार्थी अध्ययन गराउन सकिने भएकाले कक्षा १० बाट खाली हुने सिट संख्याकै हारहारीमा नयाँ भर्ना लिने गरिएको बताए।

‘धेरै विद्यार्थी भर्नाका लागि हामी सँग कोठाहरू नै छैनन्। नयाँ विद्यार्थी भर्ना लिँदा बुटवलको वडा नम्बर ३, ४ र ५ लाई प्राथमिकतामा दिन्छौँ। विद्यालय अगाडिका विद्यार्थीहरू हाम्रो पहिलो प्राथमिकतामा पर्छन्। उनीहरूलाई छुटाउने कुरा आउँदैन। यदि ठाउँ रहे अन्य वडाका विद्यार्थीहरूलाई भर्ना लिन्छौँ’, उनले भने।

तिलोत्तमा मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयले पाँच सय नयाँ विद्यार्थी भर्ना लिने योजना बनाएको छ। अघिल्लो शैक्षिक सत्रमा पनि ५ सय नयाँ विद्यार्थी भर्ना विद्यालयले लिएको थियो। जसका लागि १ हजार ४१५ जनाले प्रवेश परीक्षा दिएका थिए।

विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले सेक्सन थप गर्ने अवस्था विद्यालयमा नरहेकाले धेरै विद्यार्थीहरूलाई भर्ना लिन नसक्ने बताए। उनले टाढाका बच्चाहरूलाई भन्दा नजिकका विद्यार्थीहरूलाई भर्ना लिने क्रममा प्राथमिकतामा राख्ने बताए।

‘नजिकका विद्यार्थी छन् भने हामीले नर्सरी, कक्षा १ मा आए जतिका विद्यार्थी भर्ना गर्छौँ। तर, टाढाबाट गाडीमा साना बच्चा लिएर भर्ना गर्ने पक्षमा हामी छैनौँ’,  उनले भने।

उनले यस वर्ष शिक्षण सिकाइको गुणात्मक वृद्धि, प्रविधिमा जोड, खेल सिकाइमा जोड, सुविधा युक्त कक्षाकोठामा विशेष ध्यान दिँदै नयाँ शैक्षिक सत्र सुरू गर्ने योजनामा रहेको बताए। हाल विद्यालयमा विद्यार्थी संख्या ६ हजार ४१२ रहेका छन्।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सुरू कक्षामा भर्ना हुन आएका बालबालिकाहरूलाई विद्यालयले भर्ना नलिई फर्काउन नपाउने बताए।

‘माथिल्लो कक्षामा कति विद्यार्थी भर्ना लिने विद्यालयले आफ्नो पूर्वाधार र क्षमता अनुसार लिन्छ। त्यसमा हामीले हस्तक्षेप गरेका छैनौँ। तर, नर्सरी वा एक कक्षामा नयाँ भर्नाका लागि आएका बालबालिकालाई भर्ना नलिए कारबाही गर्छौँ’, उनले भने।

१९ वटा वडा रहेको बुटवलमा ३९ सामुदायिक र ५९ वटा संस्थागत विद्यालय छन्।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले शैक्षिक क्षेत्रमा बुटवल अब्बल हुँदै गएको र उपमहानगरले पनि त्यही अनुसार शैक्षिक क्षेत्रमा नयाँ नयाँ कार्यक्रम अघि बढाएको बताए।

वैशाख २, २०८२ मंगलबार १३:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।