साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बंगलादेशी मोडल पक्राउ, गर्दै थिइन् फेसबुकमा लाइभ स्ट्रिमिङ

साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बंगलादेशी मोडल पक्राउ, गर्दै थिइन् फेसबुकमा लाइभ स्ट्रिमिङ

एजेन्सी : बंगलादेशकी लोकप्रिय मोडेल तथा सन् २०२० की मिस अर्थ बंगलादेश मेघना आलमलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रिय सुरक्षालाई खतरामा पारेको र आर्थिक हितलाई हानी पुर्याएको आरोपमा उनलाई पक्राउ गरिएको हो। मेघनाका बुवा बद्रुल आलमले प्रहरीले छोरीलाई आरोपपत्र विनै ९ अप्रिलमा गैरकानूनी रूपमा पक्राउ गरेको दाबी गरेका छन्।

प्रहरीले राष्ट्रिय सुरक्षा र आर्थिक हितको तर्क गरे पनि खास कारण भने साउदी अरेबियाका राजदूतसँगको उनको सम्बन्ध रहेको बताइएको छ।

बद्रुल आलमले भने, ‘राजदूत र मेघना सम्बन्धमा थिए। मेरी छोरीले उनीसँग विवाह गर्न अस्वीकार गरिन् किनभने उनी पहिले नै विवाहित थिए र उनका बच्चाहरू पनि थिए।’

यसैबीच, प्रहरीले मेघना आलमले राजदूत इस्सा आलमलाई ब्ल्याकमेल गरेर ५० लाख डलर जबरजस्ती असुल्ने प्रयास गरेको आरोप लगाएको छ।

हालै मेघनाले फेसबुकमा राजदूत इस्सा गैर-इस्लामी गतिविधिमा संलग्न भएको दाबी गरेकी थिइन्। यद्यपि, मेघनाले उनीहरू के काम गरिरहेका थिए भन्ने कुरा खुलासा गरिनन्।

मेघना आलमले इस्सा युसुफले सामाजिक सञ्जालमा सत्य कुरा पोस्ट नगर्न प्रहरी मार्फत धम्की दिएको पनि दाबी गरेकी थिइन्।

पक्राउ पर्नुअघि आलम फेसबुकमा लाइभ स्ट्रिमिङ गर्दै थिइन्। त्यसपछि बंगलादेश प्रहरीको विशेष जासूस शाखा, डीबी पुलिस, उनको घरमा पसेर उनलाई पक्राउ गर्यो।

आलमलाई बंगलादेशको विशेष अधिकार ऐन अन्तर्गत पक्राउ गरिएको छ। यो ऐनले अभियुक्तलाई अनिश्चितकालसम्म हिरासतमा राख्न अनुमति दिन्छ। बंगलादेशमा यो कानूनलाई तानाशाही कानून भनिन्छ। यो घटनाले बंगलादेशको मानवअधिकारको अवस्थामाथि पनि प्रश्न उठाएको छ।

यद्यपि, बंगलादेश सरकारका कानुनी सल्लाहकार आसिफ नारुलले पनि गिरफ्तारी सही नभएको बताए।

वैशाख २, २०८२ मंगलबार १३:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।