एनएसएल : चितवन एफसीलाई २-० ले हराउँदै काठमाडौं रेजर्सले प्लेअफको सम्भावना जोगायो

एनएसएल : चितवन एफसीलाई २-० ले हराउँदै काठमाडौं रेजर्सले प्लेअफको सम्भावना जोगायो

काठमाडौं : एनसेल नेपाल सुपर लिग (एनएसएल) मा सोमबारको खेलमा काठमाडौं रेजर्सले चितवन एफसीलाई २-० ले हराउँदै प्ले अफको सम्भावना कायम राखेको छ।

दशरथ रंगशालामा भएको खेलमा काठमाडौँका बाकारी माने र अमाडाउ डियोपले एक-एक गोल गरेर टिमलाई जित दिलाएका थिए।

काठमाडौंलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नुपर्ने दबाब थियो। उता सोमबारको खेल हारेसँगै चितवन एफसीको प्लेअफको यात्रा कठिन भएको छ।

खेलको पहिलो हाफमा चितवनका कप्तान अन्जन विष्टले खेलमा अग्रता लिने दुई मौका पाए पनि गुमाएका थिए। खेलको २२औँ मिनेटमा भिक्टर मानसारेको कटब्याकमा अन्जनको पहिलो टच पोस्टको माथिबाट बाहिरिएको थियो। छोटो समयमै अन्जनले अर्को प्रहार गर्न भ्याए। तर काठमाडौँका गोलरक्षक सेक गेयेले गोल हुन दिएनन्।

दोस्रो हाफको सुरुवातमा काठमाडौंले लगातार दुई उत्कृष्ट अवसर गुमाएको थियो। ३२औँ मिनेटमा काठमाडौंले बाकारि मानेको फ्रिकिक मार्फत गोल गरेर टिमलाई अगाडि बढाए।

खेलको ५६औँ मिनेटमा एक खेलाडीले दोहोरो पहेँलो कार्ड पाएपछि चितवन १० खेलाडीमा समेटियो। ७१औँ मिनेटमा काठमाडौंले दिनेश हेन्जान र रोहन कार्कीको संयोजनमा अर्को गोल थप्यो।

काठमाडौंको यो दोस्रो जित हो। टोलीले ६ खेलमा २ जित, २ बराबरी र २ हारमा ८ अङ्क जम्मा गरेको छ। अब काठमाडौंको प्लेअफ यात्रा अन्य टिमको नतिजामा भर पर्नेछ।

पाँचौँ खेल खेलेको चितवनको यो लगातार दोस्रो हार हो। ५ खेलमा २ जित, १ बराबरी र २ हारसहित ७ अङ्क रहेको छ। चितवनले अन्तिम खेलमा धनगढीसँग खेल्नेछ।

वैशाख १, २०८२ सोमबार १९:३९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।